मैत्रिपूर्ण खेलमा इजिप्ट बेल्जियमसँग पराजित

विश्वकप फुटबलको तयारीमा रहेको बेल्जियमले इजिप्ट विरुद्धको खेलमा जित पारेको छ ।

ब्रसेल्समा बुधबारराती सम्पन्न भएको मैत्रिपूर्ण खेलमा बेल्जियमले इजिप्टलाई ३—० गोल अन्तरले हराएको हो । चोटका कारण मैदान बाहिर रहेका मोहम्मद सलाह विना मैदानमा उत्रिएको इजिप्ट विरुद्ध बेल्जियमले पहिलो हाफमा नै दुई गोल गरेको थियो ।

खेल सुरु भएको २७ मिनेट पनि बित्न नपाउँदै बेल्जियमका रोमेलु लुकाकुले पहिलो गोल गदै टिमलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि ३८ औं मिनेटमा इडेन हजार्डले बेल्जियमका लागि दोस्रो गोल गरे । पहिलो हाफ २—० को अवस्थामा सकिएको बेला दोस्रो हाफको इन्जुरी समयमा मराउने फेलानीले गोल थपेपछि बेल्जियम ३—० ले विजयी भयो ।

विश्वकपका लागि इजिप्ट समूह ‘ए’मा र बेल्जियम समूह ‘जी’मा छन् । समूह ‘ए’मा इजिप्टसहित रुस, साउदी अरेबिया र उरुग्वे छन् । यसैगरी समूह ‘जी’मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया छन् । त्यस्तै बुधबारराती नै भएको अर्को खेलमा विश्वकपमा सहभागि भएको टिम पानामा नर्वेसँग १—० ले पराजित भयो भने चेक रिपब्लिकले नाइजेरीयालाई शुन्यका विरुद्ध एक गोल अन्तरले हराउन सफल भयो ।

यता बेलारुष र हंगेरीविचको खेल भने १—१ गोलको बराबरीमा सकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?