ए डिभिजन लिग : सातौँ चरणका खेल भोलिबाट

लोकपथ
1.1k
Shares

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको सातौँ चरणका खेल भोलिबाट सुरू हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगको सातौँ चरणका खेलहरू शुक्रबार सुरू भई सोमबार समाप्त हुनेछन् ।

यो चरणमा दुई स्थानमा खेलहरू हुनेछन् । ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा र एक खेल पोखरा रंगशालामा हुने आयोजकको भनाइ छ । शुक्रबार काठमाडौंमा दुई खेल हुनेछन् । मध्यान्न १ बजे हुने पहिलो खेलमा विभागीय टोलीहरू एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्दैछन् । पौने ५ बजेको खेलमा भने फ्रेण्ड्स र न्युरोड टिम एनआरटी आमनेसामने हुनेछन् ।

यस्तै, शनिबार तीन खेल हुनेछ । १ बजे र पौने ५ बजे काठमाडौंमा दुई खेल हुँदा दिउँसो २ बजे पोखरामा घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)को चुनौती लिनेछ । काठमाडौंमा थ्री स्टार र जावलाखेल युथ भिड्दा दोस्रो खेलमा संकटा क्लब र च्यासल युथ क्लब आपसमा भिड्नेछन् ।

तेस्रो दिन एक मात्रै खेल हुनेछ । पौने ५ बजे सुरू हुने खेलमा नेपाल पुलिस क्लबले मछिन्द्र फुटबल क्लबलाई रोक्ने प्रयास गर्नेछ । सातौँ चरणको अन्तिम दिन दिउँसो १ बजे सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन् ।

जारी लिगको छैटौं चरणको खेल समाप्त हुँदा १४ अंकसहित मछिन्द्र शीर्षस्थानमा छ । १३ अंक बनाएको मनाङ दोस्रो स्थानमा रहँदा १२ अंकको संकटा तेस्रो स्थानमा छ भने १० अंकको आर्मीे तेस्रो स्थानमा छ ।

समान ८ अंक बनाएको सातदोबाटो र हिमालयन शेर्पा क्रमशः पाँचौ र छैटौँ स्थानमा रहँदा समान सात अंकका थ्रीस्टार, एनआरटी र जावलाखेल क्रमशः साँतौबाट नवौँसम्ममा छन् । यता, ६ अंकको पुलिस दशौँ स्थानमा रहँदा समान ५ अंकका एपीएफ र बीबीसी क्रमशः ११औँ र १२ औँ स्थानमा छन् । चार अंकको च्यासल र तीन अंकको फ्रेण्ड्स रेलिगेसन जोनमा छन् ।

सातौँ चरणमा शीर्षस्थानमा रहने टोली एएफसी कप-२०२२ को छनोटको लागि स्थान बनाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?