चीनमा नेपालीको मृत्यु

चीन भ्रमणमा आएका पोखराका लीलाधर पराजुलीको बेइजिङमा हृदयघातका कारण मृत्यु भएको छ ।

काठमाडौं विश्वविद्यालयको कन्फ्युसियस् इन्स्टिच्युटको संयोजनमा नेपालका विभिन्न विद्यालयका सञ्चालकहरु जेठ १२ गते शनिबार काठमाडौंबाट चीन आएका थिए ।

चीनको शाङ्हाई र हपेइ प्रान्तको भ्रमण पूरा गरेर अन्तिममा नेपालीहरुको टोली बेइजिङ भ्रमणमा आएको थियो । बेइजिङ भ्रमणका क्रममा मंगलबार बिहान ९ बजे होटलबाट एउटा छलफलमा जान लाग्दा पराजुलीलाई हृदयघात भएको थियो ।

होटलबाट बस चढ्न जान लाग्दा उनी एकाएक ढलेका थिए । चिनियाँ प्रहरीले उनलाई नजिकैको अस्पतालमा लगेको थियो । अस्पतालमा चिकित्सकले बचाउनका लागि आधा घण्टाको प्रयास गरे पनि सफल नभएपछि उनलाई मृत घोषित गरेको टोलीमा सँगै आएका प्रेमचन्द्र राईले जानकारी दिएको खबर आजको कान्तिपुरमा छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?