तरकारीको मूल्य आकासियो

तेह्रथुम, २५ असोज ।दसैँ अघिसम्म सस्तो रहेको बन्दागोभी, काउली र मुलाको मूल्य चाडबाड लागेसँगै अकासिएको छ ।दसैँअघि बजारमा प्रतिकिलो रु तीनमा पाइने बन्दागोभीको मूल्य बढेर रु १६ पुगेको छ । चार देखि पाँच रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको मुलाको मूल्य रु १५ पुगेको छ ।त्यस्तै, दसैँ अघि प्रतिकिलो रु २५ का दरले बिक्री भएको काउलीको मूल्य रु ४० पुगेको छ । तेह्रथुम, संखुवासभा र धनकुटाका किसानले बारीमा लगाएको बेमौसमी तरकारीको मूल्य बढेपछि किसान हौसिएका छन् ।तिहारको समयमा मूल्य अझै बढ्ने तरकारी व्यापारी श्याम गुरुङले बताए । मुख्य आमदानीको स्रोत तरकारीखेतीलाई बनाएका यहाँका किसानले यस वर्ष बेमौसमी तरकारीखेतीबाट मनग्य आम्दानी गरेका छन् ।बन्दागोभी, काउली र मुला बिक्री गरेर लाखाँैं रुपैयाँ हात पारिरहेका छन् । अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारीखेतीमा लागेका किसानका लागि चाडबाडको समयमा हुने तरकारीको मूल्य वृद्धिले फाइदा पु¥याएकोे छ । जिल्लाको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा र वसन्तपुर, संखुवासभाको तामाफोक र मामलिङ तथा धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवा दिन, मूर्तिढुंगा, ताङखुवा, भीरगाउँ, पाख्रिबास, तेलियालगायतका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् ।बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरेसम्मका सडकका दायाँबायाँका हजारौँं रोपनीमा बेमौसमी तरकारी खेती गरिएको छ । यस क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारी धरान, विराटनगर, विर्तामोड, नारायणघाट, वीरगन्जलगायतका बजारमा बिक्री हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?