प्रधानमन्त्री कप क्रिकेटः सेमिफाइनल समीकरण पूरा

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।

राष्ट्रिय खेलकूद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल,  नेपाल पुलिस क्लब र प्रदेश नं ५ ले सेमिफाइनलमा स्थान बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिस प्रदेश ५ लाई ७ विकेटले पराजित गर्दै समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । प्रतियोगितामा हार व्यहोरे तापनि प्रदेश ५ सेमिफाइनलमा पुगेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको प्रदेश ५ ले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै २०० रन बनायो । उसका लागि शंकर रानाले ४४, सोरभ खनालले ४२ ,राजवीर सिंहले २१, सन्दीप सुनारले २० तथा कृष्ण कार्कीले २६ रन जोडे । बलिङतर्फ पुलिसका ललित राजवंशीले २ विकेट लिए ।

दुई सय एक रनको लक्ष्य पाएको पुलिसले ४४ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । पुलिसको जीतमा दीपेन्द्रसिंह ऐरीले अविजित ५८ रनको योगदान दिए भने आरिफ शेखले अविजित ४५ रन जोडे । त्यस्तै शुरुआती ब्याट्सम्यान सुनिल धमला र अमित श्रेष्ठले क्रमशः ३६ र ३० रन जोडे भने दिलीप नाथले २४ रन बनाए ।

 
शुक्रबारदेखि शुरु हुने सेमिफाइनलमा समूह ‘ए’ को विजेता आर्मीले समूह ‘बी’को उपविजेता प्रदेश ५ सँग तथा समूह ‘ए’ को उपविजेता एपिएफले समूह ‘बी’को विजेता नेपाल पुलिससँग प्रतिष्पर्धा गर्नेछन् ।

बलिङतर्फ प्रदेश ५ का सन्दीपले २ तथा लाल अधिकारीले १ विकेट लिए । दीपेन्द्रसिंह खेलको ‘म्याच अफ द म्याच’ घोषित भए । प्रतियोगितामा समूह ‘ए’ बाट आर्मी र एपिएफ क्रमशः समूह विजेता र उपविजेता हुँदै सेमिफाइनलमा यसअघि नै पुगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?