सशस्त्र द्वन्द्वमा जलेका लालपुर्जा वितरण शुरु

 सरकारले तत्कालीन नेकपा (माओवादी) आक्रमणका क्रममा जलेका किसानका लालपूर्जा वितरणको काम शुरु गरेको छ ।
द्वन्द्वका क्रममा लालपूर्जा जलेपछि पुनःनापी गरेर लालपुर्जा वितरण गर्न लागिएको छ । लालपुर्जा वितरण कार्यको शुरुआत अर्घाखाँचीबाट भएको छ ।

कृषि, भूमि, व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ बाट लालपूर्जा वितरण शुरु गर्नुभएको हो । आर्थिक वर्ष २०७२÷०७३ मा सन्धिखर्कमा नापनक्शाको काम शुरु भएको थियो । सन्धिखर्क–२ मा मात्र चार हजार ७४७ कित्ता क्षेत्रफलको ८४१ जग्गाधनीका लालपूर्जा जलेको पाइएको थियो ।

द्वन्द्वका क्रममा पाल्पा, सिरहा, संखुवासभा र अछाममा भएका आक्रमणमा लालपूर्जा जलेका थिए ।नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार अछाममा नापजाँचको काम सकिइसकेको छ । अछाममा आव २०६४÷०६५, पाल्पामा २०७१÷०७२ र सिरहामा २०७२÷०७३ मा  नापीको काम शुरु भएको थियो ।

अहिलेसम्म पाल्पामा २५ प्रतिशत नापीको काम सकिएको महानिर्देशक भट्टले बताउनुभयो । सिरहा सदरमुकाम क्षेत्रमा नापीको काम चलिरहेको छ भने संखुवासभाको चैनपुरमा शुरु हुन सकेको छैन । यस वर्ष पनि संखुवासभामा नापनक्शाको कार्यक्रम पर्न सकेको छैन । सरकारले तीन वर्षभित्र सबैलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिसक्ने जिकिर गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?