बुटवल–पाल्पा सडकखण्ड : तीन किमी क्षेत्रमा ११३ वटा पहिरो !

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डको सिद्धबाबा पहिरोको आज स्थलगत निरीक्षण गर्नुभएको छ ।

स्थलगत अनुगमनपछि उहाँले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको चिडिया खोलादेखि पाल्पाको दोभानसम्म सुरुङमार्ग निर्माण थालिने जानकारी दिनुभयो ।

मन्त्री महासेठले एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिँदै नयाँ आर्थिक वर्षबाट नै सुरुङमार्गको काम शुरु गरिने बताउनुभयो ।

पाल्पाका प्रतिनिधिसभाका सांसद सोमप्रसाद पाण्डेले तल्लो सिद्धबाबादेखि माथिल्लो सिद्धबाबासम्म झण्डै तीन किमी सडक क्षेत्र जोखिममा रहेको बताउनुभयो ।

यो सडकखण्डमा वर्षामा मात्रै होइन हिउँदमा समेत सुक्खा पहिरो खसेर केहिको ज्यान गएको छ ।  अहिलेसम्म साना–ठूला गरेर तीन किमी क्षेत्रमा ११३ वटा पहिरो खसेको छ ।

पाल्पा जिल्ला विकास समन्वय समितिका सभापति दया बस्नेतले १० वर्षको अवधिमा पहिरोबाट ७० जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

सडकखण्डमा ढुङ्गे पहिरो खस्दा र दुर्घटना भएर १० वर्षमा १८ बस, सात ट्रक, कार, जिप, नौ र मोटरसाइकल १९ दुर्घटनामा परेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?