जर्मनीले विश्वकपमा इतिहास दोहोर्याउला ?

फुटबलको महाकुम्भ विश्वकप सुरु हुन मात्र ८ दिन बाँकी छ ।

३२ राष्ट्र सम्मिलित प्रतियोगिताको प्रत्येक समूहमा चार टोली छन् र समूह चरणका खेलपश्चात शीर्ष २ टोली राउन्ड अफ सिक्सटिन् मा प्रवेश गर्नेछन् । सन् २००२ यता जर्मनीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

पछिल्ला चार विश्वकपमा जर्मनीले २ पटक फाइनलमा स्थान बनाउदा २ पटक अन्तिम चारको यात्रा तय गरेको थियो । गत संस्करणको फाइनलमा अर्जेन्टिनालाई हराउदै जर्मनीले चौथो पटक उपाधि जित्यो । यस पटकपनि जर्मनी उपाधी जित्ने सुरुमा रहेको छ ।

डिफेन्डिङ च्याम्पियन जर्मनी जेठ ३१ बाट सुरु हुने २१ औं संस्करणको विश्वकपमा इतिहास बनाउने लक्ष्यका साथ मैदान उत्रदैछ ।

 उपाधि जितेमा जर्मनीले सन् १९६२ पछि लगातार दोस्रो पटक उपाधि जित्ने रेकर्ड बनाउनेछ । ब्राजिलले सन् १९५८ र १९६२ मा गरी लगातार दुई पटक विश्वकप जितेपछि कुनैपनि टिमले विश्वकपको उपाधि लगातार दोस्रो पटक जित्न सकेका छैनन् ।

हाल फिफा वरीयताको पहिलो स्थानमा रहेको जर्मनीले विश्वकपको युरोप छनोटमा सवै १० खेल नै जितेको थियो । छनोटका दौरान जर्मनीले ४३ गोल गरेर कीर्तिमान समेत बनाएको थियो ।

टोनी क्रुस जर्मनीलाई अघिल्लो पटक विश्वकप जिताउदा टोलीका महत्वपुर्ण सदस्य थिए । विश्वकपमा उनले गरेको प्रदर्शन वापत उनले यस वर्ष जर्मन प्लेयर अफ द एयर को उपाधि पनि जिते । रियल म्याड्रिडसँग आबद्ध रहेका क्रुसको क्लब स्तरमा पनि भुमिका र प्रभाव उत्तिकै बलियो रहेको छ ।

क्रुसले रियल म्याड्रिडलाई लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जिताउन मदत गरे । अहिले जर्मनीलाई दोस्रो पटक विश्वकप दिलाउने अभियानमा छन् । 

जर्मनी विश्वकपको समूह ’एफ’ मा छ । जर्मनीले समूह चरणमा मेक्सिको,  स्विडेन र दक्षिण कोरियासँग खेल खेल्नेछ । जर्मनीले पहिलो खेल जुन १७ मा मेक्सिकोसँग खेल्नेछ भने दोस्रो खेल जुन २३ मा स्विडेनविरुद्ध मैदानमा उत्र्नेछ । त्यस्तै, समूह चरणको अन्तिम खेलमा जर्मनीले कोरियासँग प्रतिस्पर्धा गर्नेछ । जर्मनीका प्रशिक्षक जोचिम लो सन् २००६ देखि राष्ट्रिय टिममा आवद्ध छन् । लो सन् २००८ को युरो कप च्याम्पियनसिपमा पनि जर्मन टिममा रहे ।

सन् २०१० को विश्वकपमा जर्मनीले तेस्रो स्थान हात पार्दा पनि लोको प्रभावकारी भूमिका थियो ।  सन् २०१२ को युरो कपमा पनि जर्मनीले सेमिफाइनल सम्मको यात्रा मात्र तय गरेको थियो । निखारिएको खेल प्रर्दशन र उपाधीको भोको भएको जर्मनीले अन्तत २०१४ को विश्वकप जित्न सफल भयो । 

प्रतियोगितामा सहभागी ३२ मध्ये २० टोलीले यसअघिको संस्करणमा पनि सहभागिता जनाएका थिए । यसपटक विश्वकपमा दुई टोलीले पहिलोपटक सहभागिता जनाउँदै छन् । आइसल्याण्ड र पानामाको यो पहिलो विश्वकप यात्रा हो । प्रतियोगितामा कुल  ६४ खेल खेलिनेछ । प्रतियोगिताका खेल संचालन गर्न ११ सहरका १२ रंगशाला प्रयोग गरिनेछ ।

प्रतियोगिताको फाइनल खेल जुलाई १५ तारिखमा मस्कोको लुझिन्की रंगशालामा हुनेछ । विश्वकप विजेताले सन् २०२१ मा हुने फिफा कन्फेडेरेसन कपमा सहभागिता जनाउनेछ । यस पटकको विश्वविजेता को बन्नेछ त्यो भने हेर्न बाकी नै छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?