ऐतिहासिक धार्मिक सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

पाल्पा । पाल्पा रामपुरको ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिन थालिएको छ । राम र सीता वनवास जाँदाको प्रसंगसँग जोडिएको यस ऐतिहासिक धार्मिक क्षेत्र सीताकुण्डको पर्यटकीय विकासका लागि यहाँका स्थानीयवासीले विभिन्न भौतिक पूर्वाधारका काम अगाडि बढाउँदै गएका छन् । 

भगवान् राम वनवास जाने क्रममा पाल्पा रामपुरस्थित कालीगण्डकीको रामघाट क्षेत्रमा बसोबास गर्दा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि उनलाई लुकाउन सीताकुण्ड लगिएको किंवदन्ती छ । सीताले रजस्वला भएको बखत नुहाउने क्रममा त्यस ठाउँमा पानी नभएपछि भगवान् रामले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरेका थिए । सोही कुण्डमा सीताले रजस्वला हँुदा नुहाएकाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको ८७ वर्षीय ओपबहादुर शाही बताए । 

यस कुण्डमा पहिले चामल फल्ने गरेको बुढापाका बताउँछन् । कुण्डमा स्नान गर्न आउने उपवास बसेकाले भोक लागेको बखत चामल थुतेर खान थालेपछि धान फल्न थालेको पौराणिक कथन रहेको बूढापाकाहरु बताउँछन् । 

जीर्णोद्धार अवस्थामा रहेको सीताको मन्दिर मर्मत, मन्दिर वरिपरि कम्पाउण्ड, पानी पर्दा ओत लाग्ने ठाँटी निर्माण, कुण्ड वरपरको वातावरण सरसफाइ, फूलबारी निर्माण कार्य गरिएको सीताकुण्ड मन्दिर संरक्षण समितिका सचिव रुद्र नेपालीले बताए । सीताकुण्ड आसपासको चारैतिरको भाग घेराबार गर्न नगरपालिका, वडा कार्यालय तथा विभिन्न संघसंस्थासँग आर्थिक स्रोत जुटाएर काम गर्ने नेपालीले बताए । 

रामपुर बजारदेखि सीताकुण्डसम्म जाने सडकको स्तरोन्नति गरेका कारण पनि अहिले यो क्षेत्रमा अवलोकन, भ्रमणका निम्ति विभिन्न स्थानबाट आउनेको चहलपहल बढ्दै गएको छ । यस कुण्डलाई रामपुर नगरपालिकाले दश उत्कृष्ट पर्यटकीय क्षेत्रका रुपमा वर्गीकृत गरेको छ । 

यहाँ जलदेवी, सीतामाई, भैरमकाली, सेती नाग रहेको छ । पहिले पहिले यहाँ पशुबलि दिने गरेकामा केही वर्षयता भने पशुबलि अन्त्य गरी फलफूल, नरिवल चढाउने गरिएको छ । अहिले यस क्षेत्रमा बिस्तारै भौतिक पूर्वाधारका काम हुन थालेपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । 

यहाँ रामनवमी, कृष्णाजन्माष्टमी, अक्षय तृत्तीया पर्वका अवसरमा विशेष मेला लाग्ने गर्दछ । रामनवमी पर्वका अवसरमा रामले नुहाएको कालीगण्डकीको रामघाटको जल ल्याई सीताकुण्डमा चढाउने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?