प्रदेश ३ लाई हराउदै पुलिस क्लब सेमिफाइनल नजिक

प्रदेश ३ लाई पराजित गदै नेपाल पुलिस क्लबले जारी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने सम्भाबनालाई बलियो बनाएको छ । 

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा पुलिस क्लबले प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गरेको हो । जित पछि पुलिसको ५ अंक भएको छ भने प्रदेश ५ र ७ को पनि समान ५ अंक नै छ ।

बुधबार हुने प्रदेश ५ र पुलिसबीचको खेलले सेमिफाइनलमा पुग्ने दुई टिमको टुंगो लाग्नेछ । बुधबारको खेलमा पुलिस वा प्रदेश ५ ले ठूलो अन्तरको जित हासिल गरेको खण्डमा प्रदेश ७ को पनि सेमिफाइनल पुग्ने सम्भावना कायमै छ ।

प्रदेश ७ ले समूह चरणको चारै खेल खेलिसकेको छ । वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले निधारित ओभरमा ९ विकेट गुमाएर १३७ रन बनायो । उसका लागि २ खेलाडीले मात्र दोहोरो अंकको रन बनाउन सके । अदिल खानले ४५ र सोनु तामाङले ४८ रन बनाउनुबाकेह अन्य खेलाडी क्रिजमा टिक्नै सकेनन् ।

बलिङतर्फ पुलिसका रामनरेश गिरीले ३ तथा ललित भण्डारीले २ विकेट लिए । १३७ रनको लक्ष्य पुलिसले इनिङको १ बल बाँकी छँदा ४ विकेटको क्षतिमा भेट्टायो । पुलिसका लागि ओपनर सुनील धमला र मध्यक्रमका ब्याट्सम्यान आरिफ शेखले उत्कृष्ट साझेदारी गर्दै टिमलाई जित दिलाए । यी दुईले चौथो विकेटका लागि ११० रनको साझेदारी गरेपछि पुलिसले जित हासिल गरेको हो ।

आरिफले ५४ बलमा २ छक्का र ४ चौकाको सहयोगमा ६० रन बनाउँदा सुनील धमलाले ४६ बलमा ३ छक्का र २ चौकाको सहयोगमा अविजित ५० रन बनाए । अन्तिम ओभरको दोस्रो बलमा आरिफ क्याचआउट भएपछि आएका पुलिसका कप्तान मञ्जित श्रेष्ठले तीन रन लिँदै जित दिलाए ।

बलिङतर्फ प्रदेश ३ का रुपेश श्रीवास्तवले २ विकेट लिए । आरिफ खेलको म्यान अफ द म्याच चुनिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?