सुनसरीमा बर्डफ्लुको अाशंका, ४ सय चल्ला मरे

इनरुवा : सुनसरीको कोशी गाउँपालिका–६ मा एक कुखुरापालक किसानका ४०० चल्ला मरेका छन् । 

स्थानीयवासी उपेन्द्र यादवले सोमबार राति चल्ला ल्याएको र मंगलबार बिहान एक–दुई गर्दागर्दै भकाभक चल्लाको मृत्यु भएको स्थानीय प्राविधिक पप्पु पाठकले जानकारी दिए। यादवले कैलाशपति ह्याचरी चितवनबाट ल्याएको चल्ला मधुवनका वासु श्रेष्ठसँग खरीद गरेका थिए । 

यहाँ ४०० चल्ला एकैचोटी मरेकाले स्थानीयवासी र पशु प्राविधिकले बर्डफ्लुको आशंका गरेका छन् । चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट चल्ला ल्याएकाले चल्लामा बर्डफ्लुु हुन सक्ने स्थानीय पशु प्राविधिक पाठकले आशंका गरेका छन् । 

पाठकले किसान यादवले प्रतिगोटा रु ४५ का दरले करीब रु १८ हजारको चल्ला ल्याएको र १२ घण्टा नहुँदै एक्कासि चल्लाको मृत्यु भएकाले स्थानीयवासी सशंकित भएका छन् । केहीले एकाएक यति ठूलो संख्यामा चल्लाको ज्यान जानुलाई बर्डफ्लुको नै लक्षण भएको आशंका गरेका छन् । आशंका भएका कारण आवश्यक चेकजाँच तथा परीक्षण गर्नका लागि जिल्ला पशुसेवा कार्यालयलाई समेत आग्रह गरेको पीडित किसानलाई उद्धृत गर्दै प्राविधिक पाठकले बताए । 

यता किसानको चल्ला एक्कासि मरेपछि किसान चिन्तित भएका छन् । किसानले आफूले ल्याएको चल्ला एक्कासि मरेपछि बिक्रेतासँग क्षतिपूर्तिको मागसमेत गरेका छन् । यता कैलाशपति ह्याचरी चितवनका पूर्वाञ्चल प्रमुख अनिल बस्नेतले आफूले मधुवनका वासु श्रेष्ठलाई चल्ला दिएको र यो विषयमा घटनास्थलमा पुगेपछि मात्र केही भन्न सकिने बताएका छन्। 

जिल्ला पशुसेवा कार्यालय, सुनसरीका प्रमुख शिवनाथ महतोले आफूलाई सो विषयमा जानकारी नअाएको बताएका छन्। प्रमुख महतोले जिल्लाका किसानलाई चितवनमा बर्डफ्लु फैलिएका कारण त्यहाँबाट पक्षी तथा पक्षीजन्य पदार्थ ल्याउन कडाइ गरेकोे भए पनि किसानले आफूखुशी गरेकाले त्यसो हुन गएको बताए । 

महतोले किन त्यहाँबाट चल्ला ल्याउन हतार गरेको हो आफूलाई थाहा नभएको र बर्डफ्लुको आशंका भए त्यसको सुली र मृत चल्ला परीक्षणका लागि विराटनगरस्थित प्रयोगशालामा लानका लागि सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?