के छन् ट्रम्प किम वार्ताका ३ खेलाडीका असली उद्देश्य ?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनबीचको शिखर वार्ताका ३ खेलाडीहरूमा अमेरिका, उत्तर कोरिया र चीन रहेका छन् ।

पहिलो खेलाडी अमेरिकाले उत्तर कोरियालाई नियाल्दै आएको छ । उत्तर कोरियाले हालसम्म ६ परमाणु परीक्षण गरिसकेको उसलाई थाहा छ । ३० नोभेम्बर २०१७मा उत्तर कोरियाले ह्वासोंग १५नामक क्षेप्यास्त्रको परीक्षण ग¥यो । यसका मार हान्ने क्षमता ५ हजार किलोमिटर भन्दा बढी छ ।

अमेरिकाको बाहिर उद्देश्य परमाणु खतरालाई रोक्नु रहेको छ । शिखर वार्तामा अमेरिकाले उत्तर कोरियाको परमाणु क्षमता कम गर्नुपर्ने शर्त राख्न सक्ने देखिएको छ । यसबाट परमाणु हमलाको खतरा कम हुन सक्छ ।

असली उद्देश्य भनेको रुसको बढदो प्रभावलाई कम गर्नु रहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कारण रुस फेरि बलियो बन्दै गएको देखिएको छ । विश्वका कतिपय देश रुससँग सम्बन्ध बनाउन उत्सुक देखिएका छन् ।

उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउँदैमा अमेरिकालाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्ना सहयोगीहरू माझ आफ्नो महत्व साबित गर्ने अवसर प्राप्त हुने छ ।

दोस्रो खेलाडी उत्तर कोरिया छ ।सन् २००६मा पहिलो परमाणु परीक्षण गरेपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लगायो । पछि हरेक परमाणु परीक्षण पछि उत्तर कोरियामाथि आर्थिक प्रतिबन्ध लाग्दै आएको छ ।

उत्तर कोरियाको बाहिरी चाहना  भनेको आर्थिक प्रतिबन्धलाई समाप्त गराउनु रहेको छ । ११ सेप्टेम्बर २०१७का दिन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले कच्चा तेल र प्राकृतिक ग्यासको आयातमा प्रतिबन्ध लगाइ दिएको थियो । यसबाट उत्तर कोरियाको स्थिति ज्यादै खराब हुन पुग्यो । उत्तर कोरिया ती प्रतिबन्ध समाप्त पार्न चाहेको छ ।

भित्री उद्देश्य भनेको उत्तर कोरियाको आर्थिक सुधार कार्यक्रमलाई अगाडि बढाउनु रहेको छ । नेता किमले देशमा आर्थिक सुधारका कतिपय कार्यक्रम शुरू गरेका छन् । त्यहाँ नीजीकरणलाई पनि प्रोत्साहन गरिएको देखिएको छ । यसका लागि उत्तर कोरियामाथिको आर्थिक प्रतिबन्ध सक्दो चाँडो हटाउने किमको भित्री उद्देश्य हो ।

खेलाडी नम्बर ३ चीन हो । उत्तर कोरियाका कारण कोरियाली प्रायःद्वीपमा विगत केही वर्ष देखि तनाव बढदै गएको छ । अमेरिकाका जंगी जहाज त्यसक्षेत्रमा गश्ती गरिरहेका छन् ।

चीनको बाहिरी उद्देश्य कोरियाली प्रायःद्वीपमा बढदै गएको तनाव कम गर्नु रहेको छ । त्यसक्षेत्रमा अमेरिकी सैनिकको उपस्थिति चीनको सुरक्षाका लागि सहज अवस्था भने होइन् । यसका लागि चीन शान्तिका लागि यो शिखर वार्ताको समर्थन गर्ने देखिएको छ ।

चीनको भित्री उद्देश्य आफ्नो अर्थतन्त्रलाई बलियो पार्नु रहेको छ । यो समय चीनको अर्थतन्त्र धेरै दबाबमा छ ।फिचको एक नयाँ प्रतिवेदनका अनुसार विशाल कर्पोरेट कर्जाका कारण चीनको विकास दर ४.५ प्रतिशतमा समेटिन सक्ने देखिएको छ ।

यो बृद्धि हालका वर्षहरूमा सबै भन्दा कम हो ।चीन र उत्तर कोरियाका सीमाहरू जोडिएकाछन् । उत्तर कोरियामा लगाइएका आर्थिक प्रतिबन्ध हटेमा त्यहाँ हुने आर्थिक गतिविधिबाट आर्थिक लाभ सबैभन्दा बढी चीनलाई हुने अनुमान गरिएको छ । एक अनुमान अनुसार चीनलाई उत्तर कोरियाबाट अढाई खर्ब अमेरिकी डलर बराबरको व्यावसायिक सम्झौता प्राप्त हुन सक्ने देखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?