काठमाडौं । नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत प्रज्ञा भवनमा बन्दसत्र सुरु भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टीका शिर्ष नेताहरु बन्दसत्र हलमा पुगेसँगै बन्दसत्र सुरु भएको हो । बन्दसत्रमा पार्टीका अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश गर्नेछन् ।
सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ । बन्दसत्रमा कूल एक हजार ६३१ प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको थियो । हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो ।
केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो । नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया