प्रदेश न ७ : दुई विधेयक पारित

धनगढी – प्रदेश न ७ प्रदेशसभाको आजको बैठकले सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ पारित गरेको छ ।

सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले उक्त विधेयक छलफल तथा पारित गर्नका लागि बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सदस्य भरतबहादुर खड्का, मालामतिकुमारी राना थारु, लालबहादुर खड्का, देवकी मल्ल थापा र दुर्गा विकले भाग लिएका थिए ।

यसैगरी स्थानीय तहको कानून निर्माण प्रक्रियाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई बैठकले सर्वसम्मतिले पारित गरेको छ । उक्त विधेयकको छलफलमा प्रदेशसभा सदस्य गोविन्दराज बोहरा, महेशदत्त जोशी र प्रेमप्रकाश भट्टले भाग लिएका थिए ।

यी दुवै विधेयकमाथि भएको छलफलका क्रममा उठेका प्रश्नको जवाफ सामाजिक विकास मन्त्री सोडारीले दिएका थिए । प्रदेशसभाको अर्को बैठक यही जेठ २३ गते अपराह्न ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?