नैनसिंहको बोलीमात्रै, व्यवहारमा कार्यान्वयन खै ?

काठमाडौं– सरकारले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको  विरोध गर्दै कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सोमबार विज्ञप्ति निकाल्यो ।
सभापति नैनसिंह महरले निकालेको उक्त विज्ञप्तिमा तत्काल मूल्यबृद्धि फिर्ता लिन माग सहित  दवावमूलक संघर्षको कार्यक्रम तय गरिएको उल्लेख गरिएको थियो ।
दवावमूलक कार्यक्रमअनुसार मंगलबार देशभरिका जिल्ला प्रशासन कार्यालय घेराउसहित प्रशासनमा ज्ञापनपत्र बुझाउने तय थियो । तर, उक्त कार्यक्रमअनुसार अधिकांश जिल्ला प्रशासन कार्यालयमा घेराउ र ज्ञापनपत्र बुझाउने काम नै नभएको एक नेविसंघकै नेताले लोकपथलाई बताए । रोचक त के छ भने महरकै गृहजिल्ला डडेलधूरामा समेत कुनै कार्यक्रम नगरिएको पाइएको छ ।
डडेलधूराका प्रमुख जिल्ला अघिकारी मोहन राज शाहीले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा आज कसैले पनि ज्ञापनपत्र नबुझाएको जानकारी दिए ।
 ‘प्रशासनमा कसैले ज्ञापनपत्र बुझाएको  छैन । बाहिर के  भनिएको थियो त्यो जानकारी छैन।’ उनले भने ।
यसविषयमा बुझ्न सभापति महरलाई सम्पर्क गर्दा सम्पर्कमा आएनन् । देशभर कांग्रेस निकट विद्यार्थी संगठन गुटउपगुटमा विभाजित देखिएको र सोहि अवस्था डडेलधूरामा पनि देखिएकाले  विरोध कार्यक्रम नै तय हुन नसकेको बुझिएको छ । यसो त डडेलधूरा पार्टी सभापति शेरबहादुर देउवाको गाउँ समेत हो । पार्टी सभापति र संगठनकका सभापतिकै गृहजिल्लामा पूर्वघोषित कार्यक्रम नहुनुलाई कार्यकर्ताले आश्चर्य व्यक्त गरेका छन् । उृनीहरुले बोलेको कुरा सभापतिले आफ्नै गृहजिल्लामा समेत कार्यान्वयन गर्न नसकेको भन्दै आलोचना समेत गरेका छन् ।
नेविसंघले बुधबार सबै जिल्ला प्रशासन कार्यालयमा कालो झण्डा गाडेर धर्ना दिने र सदरमुकाममा  एक घण्टा चक्का जाम गर्ने पनि तय गरेको छ । पहिलो दिन नै सशक्त विरोधको कार्यक्रम गर्नबाट चुकेको नेतृत्व भोलि र त्यसपछि पनि हुने भनिएको कार्यक्रममा कसरी प्रस्तुत हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।
जेठ १९ मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउने निर्णय गरेको थियो ।
निर्णयअनुसार पेट्रोल, डिजेल, तथा मट्टितेलको भाउ प्रतिलिटर रु ३–३ बढाइएको छ ।
मूल्य बढेसँगै यसअघि प्रतिलिटर ११० रुपैयाँ रहेको  पेट्रोलको भाउ ११३ पुगेको छ भने  प्रतिलिट ९२ रहेको डिजेल र मट्टितेलको भाउ बढेर  ९५ रुपैयाँ पुगेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?