युवा अवस्थामा नेतृत्वमा पुगेका प्रचण्डले युवालाई पालो कहिले देलान् ?

काठमाडौं । माओवादीको अन्तरिम विधान २०७८ मा पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनिएको छ ।

हालको विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिव भनिएको थियो । जसलाई परिमार्जन गर्ने प्रस्ताव आठौँ महाधिवेशनमा गरिँदै छ ।

अध्यक्ष, १ वरिष्ठसहित ७ उपाधयक्ष, महासचिव–१, उपमहासचिव–२, सचिव– ३, कोषाध्यक्ष–१ हुने प्रस्ताव केन्द्रीय कमिटीले गरेको छ ।

एमालेसँग पार्टी एकता हुँदा माओवादीको सांगठानिक संरचना लथालिङ्ग थियो । कहिले एकल नेतृत्व त कहिले बहुपदीय अभ्यास माओवादीको लागि अड्को पड्को तेलको धुप भएको थियो ।

एमालेसँग पार्टी एकता हुँदा ४० प्रतिशत हिस्सा पाएको माओवादीको नेता व्यवस्थापन त्यहीअनुसार भएको थियो । अदालतको फैसलापछि पुनः स्थापित भएको माओवादीले पुरानै संरचनालाई निरन्तरता दिएको छ ।

स्थायी कमिटीमा रहेका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लोखराज भट्ट र मणि थापा एमालेमै रहेपछि हाल माओवादीको स्थायी कमिटी १४ सदस्यीय छ ।

पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा गिरिराजमणि पोखरले, गणेश शाह, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव र चक्रपाणि खनाल स्थायी समति सदस्य छन् ।

नयाँ पदाधिकारीमा पनि यी स्थायी कमिटीहरुमध्येबाट पर्ने सम्भावना छ । अध्यक्षपछिको कार्यकारी पद रहेकाले महासचिव बन्न दौडधुप निकै छ ।

कृष्णबहादुर महरा, देव गुरुङ, हरिबोल गजुरेल, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मालगायत महासचिवका दाबेदार हुन् । पार्टीभित्र केन्द्रदेखि तल्ला तहसम्म बलियो गुट भएकाले वर्षमान पुन र जर्नादन शर्मा बलिया दाबेदार हुन् ।

प्रचण्डको आग्रहमा अन्य नेताहरूपछि सो पदमा व्यवस्थापन हुन सक्छ । शर्मा कुनै पनि हालतमा पछि नहट्ने मुडमा छन् । शर्मा मन्त्रिमण्डलमा अर्थमन्त्री हुनुको सार्थ पार्टीको संगठन विभागप्रमुख पनि हुन् ।

पुन पनि स्कुल विभागका प्रमुख हुन् । अस्वस्थ भएपछि पुन चीनमा उपचाररत छन् । पार्टी संगठन निर्माणको लागि उनी देश दौडाहामा निस्किरहने नेता हुन् । उपचाररत उनी महाधिवेशनको रुपमा स्वीकार गरिने राष्ट्रिय सम्मेलनमा हुने छैनन् ।

‘पार्टीभित्र सम्मानित पद पाउनुहुनेछ, यदि निर्वाचन नै हुने हो भने उहाँले वारेसनामाबाट उम्मेदवारी दर्ता गराउनुहुनेछ‘, पुन निकट एक नेताले भने ।

यद्यपि उनी बिरामी भएको लाभ जनार्दनले लिइरहेका छन् । वाईसीएल, अखिल क्रान्तिकारीलगायतका संगठनमा शर्माले आफूनिकटलाई नेतृत्वमा ल्याए । प्रदेश १ को अध्यक्षमा उनकै स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी भएका छन् ।

पुन र शर्मा दुवैले नछाडे महासचिवमा चुनाव हुने सम्भावना पनि छ । पार्टी मजबुत पार्ने भन्दै प्रचण्डले महासचिव पदमा महरालाई ल्याउन पनि सक्छन् । किनकि महराले विप्लव, वैद्यलगायतसँग पार्टी एकीकरणका लागि पहल समेत गरिरहेका छन् । महासचिवबाहेकका पदमा भने त्यति गाह्रो हुने छैन ।

प्रचण्डपछिको दोस्रो वरीयतामा नारायणकाजी श्रेष्ठ रहनेछन् । दोस्रो वरीयतामा अधिकांश स्थायी कमिटी सदस्यले श्रेष्ठलाई स्वीकार गरेका छन् । महरा महासचिव नरहे वरिष्ठ उपाध्यक्षमा सेटल हुनेछन् । पम्फा भुसाल, हरिबोल गजुरेल, देव गुरुङ र गिरीराजमणि पोखरेललगायतका नेताहरू पनि उपाध्यक्षमा रहने सम्भावना छ ।

उपमहासचिवमा मात्रिका यादव, देवेन्द्र पौडेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, गणेश साहलगायतको सम्भावना छ । सचिवमा लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, पूर्णकुमारी सुवेदी, हितमान शाक्य, लेखनाथ न्यौपाने, महेन्द्रबहादुर शाहीलगायतको सम्भावना छ ।

‘पुरानै महासचिव भएको हुनाले कृष्णबहादुर महरा सर्वसम्मत देखिनुहुन्छ, त्यसपछि वर्षमान पुन, महिलाबाट पम्फा भुसाल, जनार्दन शर्मा पनि हुनुहुन्छ’, माओवादीका एक नेताले भने ।

संवादको ढोका खुला राखेर पम्फा भुसालले महासचिवको दाबी गरेकी छिन् ।

‘मेरो पनि पार्टीभित्र योदान छ । आफूलाई साबित गरिसकेको छु । म सो पदको लागि योग्य छु’, भुसाल भन्छिन् ।

‘नेतृत्वमा प्रतिक्षारत नेताको रुपमा रोल नं २ मा नारायणकाजी रहनुहुन्छ । वर्षमान पुनलाई महासचिव बनाएर हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल पम्फा भुसाल, देव गुरुङलगायतको टिमलाई राखेर जनार्दन शर्मा र शक्ति बस्नेत उपमहासचिव बनाएर जानेजस्तो देखिएको छ’, एक नेताले भने ।

महरा सके महासचिव, नभए उपाध्यक्ष रहने र यसो हुँदा वर्तमन वरीयताअनुसार हुने ती नेताले जानकारी दिए । ३४ वर्षअघि युवाको रुपमा पार्टी हाँक्न आइपुगेका थिए प्रचण्ड । मशालदेखि माओवादी केन्द्रसम्म आइपुग्दा उनले युवाहरुलाई नेतृत्व लिन तयार पारेका छैनन् । तर युवाहरु भने नेतृत्व लिन तयार रहेको बताउँछन् । वर्तमान विधानमा युवाहरुको प्रतिनिधित्व २० प्रतिशत रहेने उल्लेख छ ।

‘२० प्रतिशत मात्र होइन देशको जनसंख्या अनुसार ४० प्रतिशत युवाहरुलाई केन्द्रीय समितिमा ठाउँ दिनुपर्छ । होइन भने निर्वाचनको प्रक्रियाबाट प्रतिस्पर्धा गर्ने अवसर पार्टीले युवाहरुलाई दिनुपर्छ‘, केन्द्रीय सदस्य रञ्जित तामाङले भने, ‘होइन भने यत्रो पार्टीको राष्ट्रिय सम्मेल गरेर वा महाधिवेशन गरेर पुन पुरानै केन्द्रीय सदस्य वा पदाधिकारीलार्य सुनपानी छर्किने हो भने यो सम्मेलन वा महाधिवेशनको अर्थ र औचित्य रहँदैन ।’

पुरानो समिति परीक्षण भैसकेकाले त्यसले मात्र माओवादी आन्दोलनलाई एकताबद्ध सुदृढ र नेता कार्यकतामा जागरण ल्याउन नसक्ने प्रमाणित भैसकेकाले युवालाई अवसर दिनुपर्नेमा तामाङको जोड छ ।

‘पार्टीको पदाधिकारी पोलिटब्युरो र केन्द्रीय समितिमा युवाहरुलाई पार्टीले अवसर प्रदान गर्नुपर्छ’, उनले भने ।

नयाँ पुस्ता पनि नेतृत्व लिन तयार रहेको उनको भनाइ छ ।

‘प्रचण्ड पनि कति समयसम्म नेतृत्व गर्ने र नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने अनि उनको कार्यकालपछिको माओवादी कस्तो हुन्छ भन्ने कुरामा पनि छलपल हुनुपर्छ । प्रचण्डबिनाको माओवादी आन्दोलन पनि रहन्छ र चल्न हुन्छ भन्ने कुराकाे आशा देखाउनुपर्छ । एउटा नेतृत्व पार्टीभित्र अविछिन्न रुपमा कतिसम्म रहने र कति कार्यकाल रहने पार्टीभित्र नीतिको रुपमा तयार गरिनुपर्छ । कार्यकारी पदमा १ वा २ कार्यकाल रहने व्यवस्था नीतिमा समेट्नुपर्छ’, तामाङले भने ।

अर्का केन्द्रीय सदस्य उत्तम अधिकारी भने विधानले व्यवस्था गरेअनुसार युवाको प्रतिनिधित्व हुनसके मात्र पार्टी एक स्थितिमा पुग्ने बताउँछन् ।

‘६२–६३ मा युवा भनेर वर्षमान, विप्लवलगायतका थिए र युवाहरु यता रहेछन् भन्ने थियो । अहिले कांग्रेसमा गगन विश्वप्रकाशहरु आएका छन्, युवाहरु यता रहेछन् भन्न खोज्यो । एजेण्डा हाम्रो पार्टीसँग हुने, हाम्रो एजेण्डामा सबै पार्टीहरु पक्ष विपक्षमा बहस गर्ने, राष्ट्रिय राजनीतिको एजेण्डा हाम्रो हुने, नेतृत्वका हिसाबले हामीले पुरानोजस्तो देखिने भयो त्यो ब्रेक हुनुपर्छ ।’

युवा अवस्थामा पार्टी हाँक्ने हटसिटमा पुगेका प्रचण्डले युवालाई अघि बढाउन तयार देखिएका छैनन् । पार्टी आन्दोलन धानिरहेका र ४० वर्ष नाघेकालाई पनि पार्टीको कार्यकारी पदमा ठाउँ पाउनुपर्ने अधिकारीको भनाइ छ ।

‘२० प्रतिशत भनेको ४० वर्षमुनिको हो । कतिपय पोलिटब्युरो सदस्यहरुको फिलण्डमा काम नभए पनि तत्काल बिदा गरिहाल्ने स्थितिमा पनि पार्टी छैन । युवाहरुको प्रतिनिधित्व धेरै भए राम्रो हुन्छ । महिला, मुश्लिमलगायतको समावेशी पार्टी बनाउन २० प्रतिशत युवाको प्रतिनिधित्व कार्यान्वयन गर्न सकिए अग्रगामी हुन्छ’, उनले भने ।

पदाधिकारीलगायतका पदमा निर्वाचन भइहालेको खण्डमा उम्मेदवारी दिने तयारी भने युवा नेताहरुले गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?