हेटौँडा : प्रदेश नं ३ प्रदेशसभाको आजको बैठकमा यही जेठ १८ गते प्रदेश सरकारले आव २०७५-७६ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथिको छलफल शुरु भएको छ ।
बैठकमा नेकपाका रामेश्वर फुँयालले राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्राथमिकता दिनुपर्ने, काठमाडौँमा सडक व्यवस्थापन गर्नुपर्ने, १३ वटै जिल्लामा खानेपानीको सुविधा पुर्याउनुपर्ने र भूकम्पपीडित भएका तर लालपूर्जा नभई घर बनाउन नपाएकाहरुलाई वैकल्पिक उपायद्वारा घर बनाउने अवस्था मिलाउनुपर्ने माग गर्नुभयो ।
नेपाली काँग्रेसका प्रभात तामाङले कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, दुर्गम स्थानमा खानेपानी सुविधा पुर्याउनुपर्ने लगायत सुझाव दिनुभयो । नीति तथा कार्यक्रममाथि आज र भोलि छलफल हुनेछ । उक्त छलफलमा भाग लिन प्रदेशसभाका ४४ सदस्यले नाम लेखाइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । जेठ २४ गते बस्ने प्रदेशसभाको बैठकमा नीति कार्यक्रममाथि प्रदेशसभाका सदस्यले उठाउनुभएका जिज्ञासा र सुझावको मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
यसैगरी प्रदेशसभाको आकस्मिक कोष स्थापनासम्बन्धी विधेयक, २०७५ र मुख्य न्यायाधिवक्ताको सेवा सुविधासम्बन्धी विधेयक २०७५ बारे पाँच समितिमा दफावार छलफल चलिरहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहन निरौलाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया