सभापतिमा देउवासँग दोस्रो भएका शेखरलाई पार्टीमा २० औँ वरियता

लोकपथ
7.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्यासी शेखर कोइरालाको वरियता २० औँ नम्बरमा राखिएको छ । शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औँ नम्बरमा राखिएको हो ।

सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरियतामा राखिएको छ । कोइरालाले १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए । कांग्रेसमा यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो ।

१० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो विरयतामा राखिएको थियो । सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो । तर १४ औँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धा मा दोस्रो भएको शेखरलाई २० औँ नम्बरमा राखिएको छ । देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन् ।

वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन् । १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औँ नम्बरमा थियो । १४ औँमा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन् । शेखरलाई २० औँ वरियतामा राख्न पनि उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाले संघर्ष गर्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?