काठमाडौं । नेपाली बालबालिका एवं अशक्त बृद्धबृद्धाका लागि प्रतिमहिना रु १५ करोड ९७ लाख १० हजार २५० को डाइपर आयात हुने गरेको छ । भन्सार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७८/०७९ चार महिनाको तथ्याङ्कमा आयातको उक्त अङ्क उल्लेख भएको छ ।
डाइपरलाई नेपालीका सामान्य बोलीचालीको भाषामा थाङ्नो भनिन्छ । समाज आधुनिक बन्दै गएपछि डाइपरको प्रयोग बढ्दै गएको हो । हिजोका नेपाली पुर्खाले आधुनिक डाइपरको सट्टामा थाङ्नोलाई डाइपरका रुपमा प्रयोग गर्दथे ।
आव २०७८/०७९ का चार महिनामा विभिन्न १२ मुलुकबाट रु ६३ करोड ८८ लाख ४१ हजार मूल्य बराबरका चार करोड ६९ लाख ९० हजार ९९४ थान डाइपर आयात भएको हो । सबैभन्दा धेरै भारतबाट रु ६० करोड ७० लाख १९ हजार १४३ मूल्य बराबर चार करोड ४६ लाख ६६ हजार ६०४ थान डाइपर आयात भएको छ । आयात भएको डाइपरको भन्सार मूल्य १३ रुपैयाँ ५९ पैसा हुन आउँछ ।
दोस्रो धेरै आयात हुने मुलुकमा चीनबाट रु दुई करोड ६३ लाख ५४ हजार ६९ मूल्य बराबर १९ लाख ३९ हजार २८४ थान डाइपर आयात भएको छ । उक्त तथ्याङ्कलाई केलाउँदा नेपालीका लागि प्रतिमहिना एक करोड १७ लाख ४७ हजार ७४८ थान डाइपरको आवश्यकता रहेको देखिन्छ ।
तेस्रो डाइपर आयात हुने मुलुकमा पाकिस्तान पर्दछ । पाकिस्तानबाट चार महिनाको अवधिमा तीन लाख २८ हजार ६४० थान डाइपर रु ४४ लाख ६६ हजार २१७ मा आयात भएको छ । शिुशुको मलमूत्र सोस्न वा जम्मा गर्न शिशुको कांछ र गोडाको वरिपरि पट्याइएको नरम कपडा वा थाङ्नोलाई अङ्ग्रेजीमा ‘डाइपर’ भनिन्छ ।
नेपालले डाइपर आयात गर्ने चौँथो ठुलो मुलुक थाइल्याण्ड हो । थाइल्याण्डबाट नेपालले ५६ हजार ४०० थान डाइपर रु सात लाख ६६ हजार ४७६ मा आयात गरेको छ । त्यसैगरी डाइपर आयात हुने मुलुकमा अष्ट्रियाबाट ४१, अष्ट्रेलियाबाट १९, बेल्जियमबाट दुई, डेनमार्कबाट दुई, जापानबाट दुई, अमेरिकाबाट दुई र हङ्कङबाट एक थान डाइपर आयात भएको विभागले प्रकाशन गरेको आव २०७८/०७९ को चार महिनाको तथ्याङ्कमा उल्लेख छ ।
चार महिनाको डाइपर आयातबाट राज्यले रु १८ करोड ७५ लाख ५९ हजार भन्सार असुली गरेको छ । डाइपर आयातमा भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा डाइपर उद्योगको ठूलो सम्भावना देखिन्छ । आयातको अनुपात हेर्दा नेपालीलाई झन्डै वार्षिक रु दुइ अर्बको डाइपर खपत हुने देखिन्छ । प्रचुर सम्भावनाको क्षेत्र भएर पनि नेपाली उद्यमी यसतर्फ आकर्षित भने हुन सकेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया