महाकालीको दोधारा-चाँदनी झोलुंगे पुल चुँडिन लाग्यो, मर्मतमा वेवास्ता

कञ्चनपुर : कञ्चनपुरको महाकाली नदीको मल्टीस्पान झोलुंगे पुल ठाउँठाउँमा चुँडिन थालेको छ । 

पुलमा बिछ्याइएका धातुका पाता, फलामे डोरी र मुख्य रड मर्मत सम्भारको अभावमा चुँडिन थालेका छन् । एक हजार ४५२ मिटरमा बिछ्याइएका पाता र फलामे डोरी चुँडिएका छन् । 

महाकाली नगरपालिका–६ का वडाध्यक्ष दिलबहादुर सिजालीले चाँडै पुल टुट्ने अवस्थामा पुगेको बताए । पुलको धेरैजसो स्थानमा बिछ्याइएका पाता टुटेका र चारैतिरका फलामे डोरी चुँडिन थालेका कारण जुनसुकै बेला पनि पुल टुट्न सक्ने अवस्थामा रहेको सिजालीले जानकारी दिए । पुलका नटबोल्ट र रड खसेका छन् भने जाली च्यातिएका छन् । 

पैदल, मोटरसाइकल तथा साइकलयात्रीको क्षमताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको स्थानीय टीका उपाध्यायको भनार्इ छ। उनले भने, “पुल कति बेला टुट्ने हो भन्ने थाहा छैन । कुन दिन भाँचिन्छ भन्ने पिरलो छ ।” महाकाली नगरपालिका र भीमदत्त नगरपालिकाले मिलेर तत्कालै पुलको मर्मत गर्नुपर्ने उनको भनाइ रहेको छ ।

पुलको तेस्रो टावर नजिक पुल पूर्णरुपमा भाँचिने अवस्थामा रहेको हुँदा सरकारले प्राविधिक बोलाएर मर्मत सम्भार गर्न लाग्नुपर्ने स्थानीय बासिन्दाले बताएका छन् । महाकाली नदीपारिका साविकको दोधारा र चाँदनी गाविस (हालको महाकाली नगरपालिका) का स्थानीयबासी १३ वर्ष अघि सदरमुकाम आउजाउ गर्न भारतीय बाटो वनबासाको प्रयोग गर्थे । भीमदत्त नगरपालिकाको वडा नं १३ र महाकाली नगरपालिका–४ मा पर्ने महाकाली नदीमा विसं २०६१ मा रु नौ करोड ४२ लाख बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरेका थिए । पुल पर्यटकको आकर्षणका रुपमा समेत रहेको छ । 

सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मत सम्भारको अभावमा अहिले पुल जीर्ण बनेको स्थानीयको बुझाइ रहेको छ । दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करीब तीन हजार यात्रुले पुलबाट ओहोरदोहोर गर्छन् । 

पुल बनेपछि जिल्लाका ५०–६० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी पुलको प्रयोग गर्दै आएका कारण पुलको यो अवस्था भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?