अन्तर्राष्ट्रिय राजनीतिमा आउन के गर्दै छन् कान्छा किम ?

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सिंगापुरमा शिखर वार्ता गरी अन्तर्राष्ट्रिय राजनीतिमा धमाकेदार इन्ट्रीका लागि उत्तर कोरियाली नेता किम जोङ उनले विश्वसनीय आधार तयार पार्न विभिन्न कदम चालिरहेका छन् ।

यसअघि अन्तर्राष्ट्रिय पत्रकारहरूको एक समूहलाई बोलाएर एक परमाणु भट्ठीमा विस्फोटन गराई ध्वस्त पार्न लगाएका थिए । त्यसपछि कान्छा किमले आफ्ना दाहिना हात मानिएकालाई अमेरिका पठाएर ट्रम्पसँग वार्ताको खाका तयार गरे ।

अब उनले उत्तर कोरियाली सेनाका तीन शीर्ष सैनिक प्रमुखलाई पदबाबट हटाएका छन् । एक बरिष्ठ अमेरिकी अधिकारीले जनाए अनुसार किमको यो कदमले उत्तर कोरियाको आथिक विकासमा हाम फाल्न र विश्वको राजनीतिमा व्यस्त हुन सहयोग मिल्ने छ ।

जुन १२मा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच हुने शिखर वार्ता यी दुई देशबीचका राष्ट्र प्रमुख हुने वार्ता पहिलो हो ।

विश्लेषकहरूका अनुसार यी तीन सैनिक प्रमुखको विस्थापनले किमले कोरियाली जनसेनामाथि नियन्त्रण कायम गर्न यसो गरेका हुन् । कोरियाको आर्थिक विकास र अन्तर्राष्ट्रिय समुदायको राजनीतिमा प्रवेश गर्ने यो एक संक्रमणकालीन अवस्थामा सेना र पार्टीमाथिको नियन्त्रण आवश्यक भएर किमले सैनिक अधिकारीहरूलाई पदमुक्त गरेका हुन् ।

अन्तर्राष्ट्रिय मामिला समूहका निर्देशक केन गौस भन्छन् “ किम अमेरिका र दक्षिण कोरियासँग शान्ति बनाउन तयार छन् भने परमाणु कार्यक्रमबाट हटनु पर्ने र कोरियाली जनसेनाको प्रभावलाई थन्काउनुपर्ने हुन्छ ।”

अमेरिकाले उत्तर कोरियालीलाई परमाणु हातहतियार बनाउने कार्यक्रमबाट अलग पार्न चाहेको छ । यसको जवाफमा किमले आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने योजना बनाएका छन् । 

ती अमेरिकी अधिकारीले पदमुक्त गरिएका सैनिक अधिकारीको पहिचान भने गरेनन् ।

योनापले अज्ञात गुप्तचरको हवाला दिँदै जनाए अनुसार जनसेना मन्त्रालयका पहिला उपमन्त्री नो क्वांग चोलले रक्षा प्रमुख पाक योंगलाई विस्थापित गरेका छन् भने रि म्योंगको जिम्मेवारी सहयोगी रि योंग गिललाई दिइएको छ । यस अघि उत्तर कोरियाली सञ्चार माध्यमले सेना जनरल किम सु गिलले  किम जोंग गाकलाई विस्थापित गरेका थिए ।

यसबारे अमेरिकाको राष्ट्रपति कार्यालय, विदेश मन्त्रालय, सीआईए र राष्ट्रिय गुप्तचर निर्देशकको कार्यालयले औपचारिक प्रतिक्रिया दिन  अस्वीकार गरेका छन् । दक्षिण कोरियाको एकीकरण र प्रतिरक्षा मन्त्रालयहरूले पनि यसको पुष्टि गर्न अस्वीकार गरेका छन् ।

नयाँ जिम्मेवारीमा आएका सैनिक प्रमुखहरू आफ्ना पूर्ववर्तीहरूको तुलनामा कम उमेरका छन् ।

किमले यसबीचमा अमेरिका, चीन ,रुस र सिरियाका नेताहरूसँगको बैठक गर्ने योजना बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?