आयआर्जन गर्दै पूर्वकमलरी

RSS
0
Shares

देउखुरी । पछिल्लो समय दाङका महिला आफ्नै गाउँठाउँमा काम गरेर स्वरोजगार बन्दै छन् । घोराही–८ दुन्द्राकी एमुना चौधरी पूर्वकमलरी हुन् ।

उनी कमलरीमुक्त भएपछि समूहमा आबद्ध भएर आयआर्जन गर्न बंगुरपालन व्यवसाय सुरु गरेकी छिन् । अहिले उनको खोरमा ३० बंगुर छन् । उनले भनिन्, ‘आफ्नै गाँउघरमा सानो लगानी गरेर आयआर्जनमा जोडिन पाउँदा औधी खुशी छु ।’ मुक्तकमलरी विकास मञ्च र आइएम नेपालका सहयोगमा २७ महिलालाई समूहमा आबद्ध गराइ तालिम समेत प्रदान गरिएको थियो ।

घोराही–२ रामपुर पलासेका तुलसा चौधरी जागरण महिला समुहका अध्यक्ष छिन् । उनी पनि पूर्वकमलरी हुन् । उनले अहिले समूहमा मासिक ३ रुपैयाँ बचत गर्छिन् । समूहमा बचत गरेको पैसालाई घुम्ती कोषमार्फत सबै सदस्यले पालैपालो लैजाने गर्दछन् । उनले ती संस्थाद्वारा सञ्चालित कृषि र उद्यमशीलताको तालिम लिएकी थिइन् ।

उनले घुम्ती कोषबाट पैसा ल्याएर व्यावसायिक तरकारी खेती गरेकी छिन् । उनले १० कट्ठा जमिनमा टमाटर, लसुन, काउली र बन्दा लगाएकी छिन् । उनले भनिन्, ‘तरकारी बेचेर मासिक ३० देखि ३५ हजार आम्दानी गर्दछु ।’

मञ्चका केन्द्रीय अध्यक्ष शान्ति चौधरीले पूर्वमुक्त कमलरीलाई आयआर्जन गरे आत्मनिर्भर बनाउन कृषि र पशुपालनमा जोडेको बताइन् । महिलाले गर्दै आएका पेसा, व्यवसाय, कृषि, उद्यमशीलताका कामको अनुगमन गर्न र सम्बन्धित कार्यालयका प्रमुखसँग समन्वयन गराउने गरेको उनले जानकारी दिइन् ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले मुक्तकमलरी विकास मञ्चले महिलालाई आयआर्जनमा जोडेर राम्रो काम गरेको बताए । उनले महिला सचेत भएमा बालविवाह न्यूनीकरण र लैंगिक हिंसा अन्त्यका लागि सकारात्मक प्रभाव पर्ने उल्लेख गरे ।

आइएम कार्यक्रमका प्रबन्धक माधवराज चौधरीले लक्षित महिलाको उत्थानका लागि परियोजनामार्फत आयआर्जन र सचेतनामूलक कार्यक्रम भएको बताए । मञ्चले हाल घोराही उपमहानगरपालिकाको वडा नम्बर २, ४ र ८ मा कार्यक्रम लागू गरेर महिलालाई स्वरोजगार बनाउन सहयोग गरेकोछ ।

जिल्लामा मुक्तकमलरीको संख्या तीन हजार ६ सय ५८ जना रहेको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?