गाउँपालिकाद्वारा दुग्ध संकलन केन्द्र सञ्चालनमा

RSS
91
Shares

रामपुर । पाल्पाको रिब्दीकोट गाउँपालिकामा दुग्ध संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । यहाँको भैरवस्थान कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सो केन्द्र सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाभित्र एकै ठाउँमा संकलन गरी बिक्री वितरण गर्ने भएपछि किसानलाई दुध बेच्न झण्झट नहुने र राम्रो आयआर्जनसमेत हुने हुँदा सो केन्द्र सञ्चालनमा ल्याइएको कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले जनाएको छ । दुग्ध संकलन केन्द्र स्थापना भएसँगै यहाँका किसान उत्साहित हुँदै व्यवसायमा लागेको सहकारी संस्थाका अध्यक्ष केशव खनालले बताए ।

उनले भने, ‘किसानको सहजताका लागि हामीले संकलन केन्द्र सञ्चालनमा ल्याएका हौँ, गाउँमा उत्पादित दूध गाउँमै बेच्न पाउँदा यसले कृषकलाई ठूलो राहत पुग्नेछ ।’ गाउँपालिकाको आठ वडामा हाल एक हजार ४ सय ३० लिटर दूध संकलन हुँदै आएकामा अब भैरव दूधका नामबाट बिक्रीवितरण गरिने सहकारीले जनाएको छ ।

सहकारीले आउँदो माघ महिनादेखि तानसेनमा बिक्री कक्ष सञ्चालन गर्ने योजना बनाएको छ । हेफर प्रोजेक्टले दुई हजार लिटरको चिलिमे भ्याट, दूधको शुद्धता नाप्ने मिल्क एनालाइजर, तथा अन्य उपकरणका लागि ५० प्रतिशत सहयोग गरेको छ ।

यस्तै गाउँपालिकाभित्र करिब एक हजार ६ सय कृषकलाई एकीकृत बनाएर कृषि तथा पशुपालन क्षेत्रमा आयआर्जन बढाउने गरी सचेतना अभियान सञ्चालन गर्दै आइरहेको रिब्दीकोट हेफर प्रोजेक्टका फोकल पर्सन रामप्रसाद न्यौपानेले बताए ।

गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले संकलन केन्द्र सञ्चालनमा आएपछि कृषक विचौलियाबाट ठगिनेक्रम रोकिने बताउँदै उत्पादन बढाउने, बजारीकरण गर्ने, उत्पादित वस्तुलाई प्रशोधन गरेर दूधको विविधीकरण गर्ने व्यापारमा सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

साथै गाउँपालिकाद्वारा कृषकलाई दूध, दाना, घाँस ढुवानीलगायत विभिन्न कामका लागि हेफर प्रोजेक्टको ५० प्रतिशत, गाउँपालिकाको २५ प्रतिशत र सहकारी संस्थाको २५ प्रतिशत लगानीमा बलेरो पिकअप जीप प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?