बम्पर लाभांश पारित गर्न नबिल बैंकले बोलायो वार्षिक सभा, बुक क्लोज कहिले ?

लोकपथ
481
Shares

काठमाडौं । नबिल बैंक लिमिटेडले ३७औँ वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्ष २०७७/७८का लागि वाणिज्य बैंकहरुमै सबैभन्दा धेरै लाभांश घोषणा गरेको नबिलले यही पुस ३० गते वार्षिक साधारणसभा आह्वान गरेको हो।

बैंकको साधारणसभा काठमाडौंको दरबारमार्गस्थित नबिल सेन्टरमा बैंकको केन्द्रीय कार्यालयमा पुस ३० गते बिहान ९:३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरि कुल ३८ प्रतिशत लाभांश पारित गर्नेछ ।

यसका साथै, सभाले अधिकृत पुँजी वृद्धि गरी १९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पारित गर्नुका साथै बोनस सेयर जारी गरी बैंकको जारी तथा चुक्तापुँजी १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७४५ रुपैयाँ पुर्याउने र सोहीअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा वैदेशिक रणनीति साझेदारीमा जान उपयुक्त देखिएमा आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित गर्नेछ ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले, पुस १५ गतेसम्म कायम सेयरधनीहरुमात्रै बैंकको लाभांश पाउन र सभामा भाग लिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?