नेपालको श्रम क्षेत्रको प्रगति बारे जेनेभामा यसो भने गोकर्ण विष्टले

काठमाडौँ –श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पछिल्ला दिनमा नेपालले हासिल गरेको राजनीतिक स्थायित्व र आर्थिक, सामाजिक तथा श्रमको क्षेत्रमा भएको उल्लेखनीय प्रगति विश्व समुदायका लागि अनुकरणीय रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय श्रम सम्मेलनका अवसरमा आज जेनेभामा सम्बोधन गर्दै उनले श्रमिकको हकहितको रक्षा गर्दै श्रम क्षेत्रलाई कानूनी दायराभित्र ल्याउने गरी सरकारले श्रम ऐन, २०७४ र नियमावली २०७५ कार्यान्वयमा ल्याइसकेको बताए । उनले  योगदानमा आधारित सामाजिक सुरक्षा ऐनको कार्यान्वयन प्रारम्भ भएको र नेपालले केही वर्षभित्रै अनौपचारिक क्षेत्रलाई समेत कानूनी दायराभित्र ल्याउने गरी आवश्यक गृहकार्य गरिरहेको उल्लेख गरे ।

मन्त्री विष्टले सन् २०२५ भित्र बालश्रम उन्मूलन गर्ने गरी गुरुयोजना तयार पारेर सरकार अगाडि बढिरहेको स्पष्ट पारे ।
 वैदेशिक रोजगारी बाध्यात्मक नभई स्वेच्छिक हुनुपर्नेमा जोड दिँदै उनले रोजगारीका अवसर सिर्जना गर्न नेपालले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनको तयारी गरेको तथा युवाको दक्षता अभिवृद्धिका लागि सीपमूलक तालीम विस्तार गर्ने एवं पिछडिएका र सीमान्तकृत वर्गलाई लक्ष्य गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्ने तयारीमा रहेको जानकारी दिए ।

नेपालले अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत सिद्धान्त एवं त्रिपक्षीय सामाजिक संवादलाई महत्वका साथ अवलम्बन गरेको उनले स्पष्ट गरे ।  यही जेठ १४ देखि शुरु भएको १०७ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन जेठ २५ गते सम्पन्न हुने संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग जेनेभाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?