कामना सेवा विकास बैंकले भोलिदेखि ‘कामना सेवा फुटसल कप’ आयोजना गर्दै

लोकपथ
169
Shares

काठमाडौं । कामना सेवा विकास बैंकले पुस ९ र १० गते “Kamana Sewa FutsalCup” आयोजना गर्ने भएको छ । बैंकले आज पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमा आयोजित पत्रकार सम्मेलनमार्फत सहभागी टिमहरुको घोषणा गर्नुका साथै खेल तालिकाको बारेमा समेत जानकारी गराइएको थियो ।

उक्त फुट्सल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु समेत गरी २४ वटा टिम सहभागी हुने बैंकले जनाएको छ । उक्त खेलको लागि गोला प्रक्रियाद्वारा समूह विभाजन गरिएको छ ।

बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त पत्रकार सम्मेलनमा बैंकका सञ्चालक विश्वेश्वर सुवेदी र श्रीसिता घिमिरे, नि. प्रमुख कार्यकारी अधिकृत हरि प्रसाद लम्साल, सञ्चारकर्मीहरु, एन्फा फुटबल कमिटिका प्रतिनिधि, खेलमा सहभागी संस्थाहरुका प्रतिनिधिहरु तथा बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा एन्फा फुटबल कमिटिले खेलका नियमहरुको बारेमा जानकारी गराएको थियो । उक्त प्रतियोगितामा एन्फा फुटबल कमिटीले रेफ्रिहरु उपलब्ध गराउनुका साथै खेल सम्पन्न गर्नको लागि सहजीकरण समेत गर्नेछ ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजबाट पौष ९ गते उक्त खेलको समुद्घाटन हुनेछ भने पौष १० गते अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाबाट खेलको समापन गरिनेछ । पौष १० गते हुने नकआउट चरणका खेलहरुको खेलपाटी डट कमसहित विभिन्न डिजिटल माध्यमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।

यस प्रतियोगिताले संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगिता प्रबर्दन गर्ने तथा संस्थाहरुबीच मैत्रीपूर्ण सम्बन्ध स्थापित र खेलमैत्री वातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका अध्यक्ष्य आचार्यले बताए । उनले उक्त खेललाई अत्यन्तै मर्यादित र अनुशासित रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउंबाट सहयोग र समन्वय गर्नको लागि अनुरोध समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?