सुरु भयाे दोस्रो चरणको भर्ना अभियान

भक्तपुर– सरकारले आजदेखि दोस्रो चरणको भर्ना अभियान शुरु गरेको छ ।

गत वैशाख २ गतेदेखि सञ्चालित पहिलो चरणको भर्ना अभियानमा विद्यालय भर्ना हुनबाट छुटेका बालबालिकालाई विद्यालय भर्ना गराउने उद्देश्यले सरकारले दोस्रो चरणको भर्ना अभियान शुरु गरेको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो । सरकारले आव २०७५ । ०७६ का लागि सार्वजनिक गरेको बजेटमा ‘विद्यालय ल्याऔँ, टिकाऔँ र सिकाऔँ अभियान’ उल्लेख गरेको छ ।

महानिर्देशक पौडेलले भन्नुभयो, “विद्यालय बाहिर रहेका तीन लाख १३ हजार २९८ बालबालिकामध्ये पहिलो चरणको भर्ना अभियानमा दुई लाख ५६ हजार ५५६ विद्यार्थी भर्ना भए । अब विद्यालय भर्ना हुनबाट छुटेका ५९ हजार ७३३ बालबालिकालाई विद्यालय भर्ना गराउन दोस्रो चरणको भर्ना अभियान शुरु भएको छ ।” ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचको सुनिश्चितता र सिकाइमा स्थायित्व’ भन्ने नाराका साथ शुरु गरिएको पहिलो चरणको भर्ना अभियानमा प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, कलाकारलगायतले विद्यालय जान नपाएका बालबालिकाको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराएका थिए ।

दोस्रो चरणको अभियानमा भने कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्ने तथा सबै प्रदेशका सामाजिक विकासमन्त्री र जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको बैठक राखेर बालबालिकालाई भर्ना गराइने कार्यक्रम छ । आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयसँगै सरकारले प्रत्येक घरघर पुगेर सर्वेक्षण फाराम भर्ने, अपाङ्गता भएका बालबालिकालाई अपाङ्गताको प्रकृति हेरी स्रोत कक्षा सञ्चालन भएका नजीकका विद्यालयमा भर्ना गराउने र तराईका जिल्लामा स्वयंसेवक परिचालन गरी भर्ना गराउने छ । भर्ना अभियान आगामी असोज १५ गतेसम्म चल्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?