१७ किलो सुनकाण्ड: पासाङ गुरुङलाई आठ करोड जरिवानासहित १० वर्ष जेल

बेसीशहर । लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका मनाङका पासाङ गुरुङलाई आठ करोड रुपैयाँ र दश वर्ष ६ महिनाको जेल सजाय सुनाइएको छ ।

ज्याला मजदुरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९ का ३१ वर्षीय पासाङलाई पाँच महिनाअघि प्रहरीले प्रक्राउ गरेको थियो । जिल्ला अदालत लमजुङका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले गुरुङलाई संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत कैद फैसला सुनाएको अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिए ।

मनाङबाट बेसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङलाई १७ किलो सुनसहित मस्र्याङ्दी–२ मा पक्राउ गरिएको थियो । उनले भरियाका रुपमा सुन बोकेको बताइएको छ ।

तस्कर समूहलाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?