कतारमा अहिलेसम्मकै निर्मम सजायँ, हत्या आरोपी नेपालीलाई गोली हान्न आदेश

काठमाडौं । एक नेपाली नागरिकलाई कतारमा गोली हानी मृत्युदण्ड दिन आदेश दिइएको छ । कतारको अदालतले कतारी नागरिक उमैर मोहोम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्या अभियोगमा महोत्तरीका अनिल चौधरीलाई मृत्युदण्डको फैसला सुनाएको हो । 

तल्लो अदालतका न्यायाधीस मुस्तफा अल वेदाहिवीको इजलाशले सो फैसला सुनाएपछि कतारस्थित नेपाली दूतबासले उनको जीवनरक्षाका लागि पुनरावेदन गराएको छ । नेपालीमाथि कतारमा भएको यो नै सबैभन्दा निर्मम सजाय भएको बताइएको छ । 

हत्या अभियोगमा चौधरी सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । 

पुनरावेदनसँगै सर्वोच्चमा बहस गर्नको लागि लाग्ने वकिल खर्च ६ लाख रुपैयाँ राजदूतावासले सरकारसँग माग गरेको छ ।  परराष्ट्र मन्त्रालयले श्रम मन्त्रालय हुँदै वैदेशिक रोजगार प्रर्वद्धन बोर्डलाई पैसा उपलब्ध गराउन अनुरोध गरेको छ।

यद्यपी बोर्डले बजेट उपलब्ध गराउने सम्बन्धमा छलफल कुनै निर्णय गरेको छैन ।  २०१५ अगष्ट २७ गते कतार गएका चौधरी  कार वास कम्पनीमा कार्यरत थिए । यो अभियोगमा अरु १० नेपाली पनि जेलमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?