सुन तस्करी र सनम हत्या प्रकरण, पूर्वप्रहरी अधिकारी असन्तुष्ट

काठमाडौं–सुन तस्करी प्रकरण चर्चामा रहेका बेला नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले भने जारी अनुसन्धानमा नै शंका गरेका छन् । सुन तस्करी प्रकरणमा मुछिएकाहरू धमाधम पक्राउ पर्ने र आत्मसमर्पण गर्दै अदालतमा पुग्ने क्रम बढेपछि नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले जारी अनुसन्धानमा नै शंका व्यक्त गरेका हुन् ।उनीहरूले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीलाई समेत गलत नियतले मुद्दा चलाएर फसाउन खोजिएको समेत बताएका छन् ।

नेपाल प्रहरीका पूर्वएआईजी राजेन्द्रसिंह भण्डारी, पूर्वडीआईजीहरू रमेश खरेल र हेमन्त मल्लले आइतबार सञ्चारकर्मीसँगको भेटघाटका क्रममा सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरीलाई नै फसाउन खोजिएको र जारी अनुसन्धानमा नै शंका उत्पन्न हुन थालेको बताए ।

सनम शाक्यको हत्यापछि अनुसन्धानमा खटिएका एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई फसाइएको उनीहरूले दाबी छ ।

उनीहरूले गृह मन्त्रालयका सहसचिव ईश्वर पोखरेल नेतृत्वको छानबिन समितिमाथि नै प्रश्न उठाउँदै छुट्टै आयोग गठन गरेर वा त्यसभित्रै रहने गरी ‘टाक्स फोर्स’ या संसदीय समिति बनाएर सुन तस्करी र शाक्य हत्याको पुनः छानबिन थालिनुपर्ने माग गरेका छन्, आजको राजधानी दैनिकमा खबर छ ।

पूर्वएआईजी भण्डारीले निष्ठावान् प्रहरी कर्मचारीलाई फसाउने काम भएको भन्दै छानबिनमा त्रुटि रहेको बताए । यस्तै पूर्वडीआईजी मल्लले अनुसन्धान गर्ने प्रहरीलाई नै कारबाही गर्दा प्रहरी संगठनमा दीर्घकालीन असर पर्ने भन्दै एसएसपी लोहनीलाई हतारमा जेल हालिएको बताए । सो घटनाको निष्पक्ष रूपमा अनुसन्धान हुन नसक्दा प्रहरी संगठनलाई नै कमजोर बनाउने उनले बताए ।

पूर्वडीआईजी खरेलले आफू प्रहरीमा रहँदा अनुसन्धानका क्रममा ७ किलो चरेस बोकेर अपराधीसम्म पुगेको भन्दै अनुसन्धानमा लागेकालाई नै जेल हाल्नु गलत भएको बताए ।

उनीहरूले अनुसन्धानमा तानिएका डीएसपी केसी र सई सञ्जेल प्रहरी संगठनभित्रका सक्षम अधिकारी भएकोसमेत दाबी गरे । डीआईजी खरेलले यसअघिका आईजीपी प्रकाश अर्याललाई अनुसन्धानमा अपनाइएको सबै विषय जानकारी रहेको भन्दै सो विषयमा अर्यालले समेत मुख खोल्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?