कोभिडपछि फस्टाउन लागेको पर्यटन व्यवसाय पुनः ओमिक्रोनको त्रासमा

काठमाडौं । कोरोना भाइरसको संक्रमणमा कमी आएपछि पहिलेकै लयमा आउन लागेको पर्यटन व्यवसाय पुनः संकटमा पर्ने देखिएको छ ।

तेस्रो चरणको कोरोनाको भेरियन्ट ओमिक्रोनको संक्रमण छिमेकी मुलुक भारतलगायत नेपालमा पनि देखिन थालेपछि विस्तारै लय समातेको पर्यटन क्षेत्रमा त्रास देखिएको हो ।

पछिल्लो समय संक्रमण कम हुँदै जाँदा नेपालमा आन्तरिक तथा विदेशी पर्यटकहरूको आउजाउ बढेको थियो । कोरोना सुरु भएपछिको समययता यस वर्ष नेपालमा पर्यटक आगमनका संख्या बढेको नेपाल पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ । विगतका वर्षहरूमा हरेक वर्ष नेपाल भ्रमणका लागि आउने पर्यटकका संख्या बढे पनि कोभिड १९ का कारण उक्त संख्या घटेको थियो ।

पछिल्लो समय विदेशी तथा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको भए पनि ओमिक्रोनका कारण फेरि घट्ने देखिएको र यसले पर्यटन व्यवसाय पुनः धरापमा पर्ने पोखराका पर्यटन व्यवसायी त्रिभुवन भट्टराई बताउँछन् ।

लामो समयपछि केही आशावादी भएका पर्यटन व्यवसायीहरू पुनः निराश हुनुपर्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, ‘हामीलाई पर्यटन व्यवसाय कसरी चलाउने भन्दा पनि कसरी धान्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ ।’

तेस्रो मुलुकका नागरिक पनि नेपाल भित्रिन थाल्दा पर्यटन व्यवसायीले सुधारको संकेत देखेका थिए । तर, पछिल्लो समय विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको र त्यसको संक्रमण तीव्र बन्न सक्ने भएपछि विभिन्न देशले उडान प्रतिबन्ध लगाएपछि यो व्यवसायमा थप चिन्ता बढेको छ ।

लामो समयसम्म ठप्प रहेको पर्यटन क्षेत्र पछिल्लो समय व्यवसायीहरू केही आशावादी देखिए पनि ओमिक्रोनको संक्रमणले पर्यटन व्यवसायमा असर पर्ने चिन्ता थपिएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए । ओमिक्रोनका कारण विस्तारै मुलुकले आउजाउ नै असर पर्नेगरी हवाई उडान रोकिँदै गएपछि त्यसको मार पर्यटन क्षेत्रमा पर्ने उनले बताए ।

पोखराका पर्यटन व्यवसायी त्रिभुवन भट्टराईका अनुसार पर्यटन व्यवसाय फस्टाउँदै गएको अवस्थामा धेरै व्यवसायी आशावादी भएका तर कारोनाको तेस्रो भेरिएन्टले झनै मारमा पार्नसक्ने देखिएको छ । कोरोनाका कारण पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको उनी बताउँछन् ।

‘अब खुल्यो है भन्ने बेलामा पर्यटन व्यवसाय बन्द गराइनुपर्ने अवस्था आउनु अत्यन्तै दुःखद भएको छ’, उनले भने । ओमिक्रोनको चुनौतीलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको विकासका लागि व्यवसायी र सरकार दुबै लचिलो हुनु आवश्यक रहेको उनले बताए ।

सरकारले ओमिक्रोन भाइरसको संक्रमण र सुरक्षालाई मध्यनजर गर्दै आन्तरिक पर्यटकका लागि सहज वातावरणको सिर्जना गर्नुपर्नेमा उनको जोड छ ।

‘जेनतेन चलाइएको होटेल व्यवसाय हिजो देउसी भैलो कार्यक्रममा हामीलाई १० बजेपछि बन्द गरिनु बाध्य बनायो । अहिले फेरि पूर्वसन्ध्यामा रहेको क्रिसमस, लोसार, अंग्रेजी नयाँ वर्षलगायतका पर्वमा सामाजिक सुरक्षाका प्रश्न उठाइँदै बन्द गर्न दबाब दिइनुले पनि पर्यटन व्यवसायीहरूलाई घाटातर्फ लगेको छ’, उनले भने ।

अबेरसम्म पर्यटन व्यवसाय खुलाउन सुरक्षा व्यवस्थाको वातावरण सिर्जना हुनुपर्ने माग सरकारसँग राखेको व्यवसायी भट्टराई बताउँछन् । भारतका विभिन्न स्थानमा ओमिक्रोन भाइरस देखिएकाले भारतबाट आउने ठूलो संख्याको पर्यटक नेपाल आउनमा समस्या भएको र यसको असर नेपालको आन्तरिक पर्यटकहरूमा पनि पर्ने उनी बताउँछन् ।

उनले भने, ‘संक्रमण बढ्न थालेपछि आन्तरिक पर्यटकहरू पनि घुमफिर गर्न चाहँदैनन् ।’ अहिले एकदमै फस्टाएको पर्यटन व्यवसाय पुनः मारमा पर्न लागेकोमा व्यवसायी भट्टराईले दुःख व्यक्त गरे ।

व्यवसाय धान्नै समस्या

नेपाल हाइकिङ टिमका सञ्चालक एवं काठमाडौंका पर्यटन व्यवसायी गंगाराज थापाले भने, ‘हामीलाई घरभाडा समेत तिर्न कठिन भइरहेको छ, त्यसैमाथि बिजुलीको २५ प्रतिशत जरिवाना लगाइँदा झन् समस्या भइरहेको गुनासो उनको छ । उनले अन्य व्यवसायको तुलनामा पर्यटन व्यवसायमाथि पर्नगएको घाटालाई मध्यनजर गर्दै सरकारले घरभाडा छुट, कर छुटको व्यवस्था मिलाइदिन आग्रह गरेका छन् ।

व्यवसायी थापाले ओमिक्रोनको संक्रमण बढेसँगै विदेशबाट आउने अग्रिम बुकिङहरू समेत रद्द हुने क्रम बढेको उनी बताउँछन् । उनले भने, ‘कन्फर्म भइसकेको विदेशी पर्यटकको अग्रीम बुकिङ टिकट आगामी वर्ष आउने भन्दै क्यान्सिल हुने क्रम बढेको छ ।’

विश्व स्वास्थ्य संगठनले पनि विभिन्न देशहरूलाई भ्रमण रद्द गर्न आह्वान गरेको छ । योसँगै पर्यटन व्यवसायीलाई अझै असर गर्ने आकलन उनले गरेका छन् । सरकारले ओमिक्रोन भेरियन्टको संक्रमण व्यवस्थापनलाई ध्यानमा राख्दै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रणनितिक योजना बनाउनुपर्ने व्यवसायीहरूको माग छ ।

व्यवसायी थापा भन्छन्, ‘हामीलाई हाम्रा श्रमशक्ति धान्न नै समस्या भएको छ ।’ अनुभवी गाइड, कुक, क्लाइम्बरहरु कामविहीन भएर बसिरहेका छन् । पर्यटन क्षेत्रमा काम नभएपछि उनीहरू पलायन हुने अवस्थामा पुगेको उनी बताउँछन् । सरकारले उनीहरूलाई अद्यावधिक गर्दै रोजगारीको व्यवस्था मिलाउनुपर्ने माग उनको छ ।

‘पर्यटन क्षेत्र टिकाइराख्नका लागि सहुलियत कर्जा तथा पुनर्कर्जाको व्यवस्था भए हामीले लिएको ऋणको ब्याज तिर्नमा हामीलाई थोरै राहत मिल्ने थियो’, व्यवसायी थापाले भने ।

कोरोनापछि गत नोभेम्बर हालसम्मकै बढी पर्यटक आगमनको महिना

यस वर्षको नोभेम्बर महिनामा मात्रै २६ हजार १ सय ३५ जना विदेशी पाहुना हवाई जहाजबाट नेपाल भित्रिए । २०२० नोभेम्बरको आगमन संख्या १ हजार ९ सय ५६ मात्र थियो । कोरोना भाइरस संक्रमण सुरु हुनुअघि सन् । २०१९ को नोभेम्बरको आगमन १ लाख ३० हजार ३ सय २ थियो ।

यस वर्ष नोभेम्बर महिनाको अन्त्यसम्ममा १ लाख २६ हजार २ सय ८३ जना विदेशी पर्यटक हवाई जहाजबाट नेपाल भित्रिए । जनवरी महिनामा मात्रै ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका थिए भने फेब्रुअरी महिनामा ९ हजार १ सय ४६ पर्यटकको आगमन भएको नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले बताए ।

बोर्डका अनुसार २०२१ को मार्च महिनामा मात्रै १४ हजार ९ सय ७७ जना पर्यटक नेपाल भित्रिएका थिए । नेपालमा यस वर्षको अप्रिल महिनामा २२ हजार ४ सय ५० पर्यटक आगमन भएको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै मे महिनामा यस वर्षकै सबैभन्दा कम १ हजार ४ सय ६८ जना पर्यटकको आगमन भएको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार गत जुन महिनामा १ हजार १ सय ४३ जना र जुलाई महिनामा २ हजार ९ सय ९१ जना मात्र पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

अगष्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटकको आगमन भएको पर्यटन बोर्डले जनाएको छ । त्यस्तै गत सेप्टेम्बर महिनाको अन्तिमसम्ममा ९ हजार ८ सय ९८ जना र २३ हजार २ सय ८४ जना पर्यटक अक्टोबर महिनामा नेपाल आएका थिए ।

सो महिनामा देशबाट बाहिरिने पर्यटकको संख्या भने २६ हजार ४ सय ८७ रहेको पर्यटन बोर्डका प्रवक्ता लामिछानेले बताए । नोभेम्बर महिनामा अमेरिकाबाट नेपाल आउने पर्यटकको संख्या १५.३ प्रतिशत रहेको थियो । ३ हजार ७ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । बेलायतबाट उक्त महिनामा २ हजार २६ जना पर्यटक नेपाल आए ।

सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट १० हजार ४ सय २१ जना पर्यटक गत महिना नेपाल आएको नेपाल अध्यागमन विभागले जनाएको छ । बंगलादेशबाट पनि नेपाल भ्रमणमा आउनेको संख्या ठूलो छ । बंगलादेशाबाट गत नोभम्बर महिनामा मात्रै १ हजार ३ सय ८२ जना पर्यटक नेपाल आएका छन् । यसका साथै सार्क राष्ट्रमध्ये अन्य देश पाकिस्तान, भुटान, श्रीलंकाबाट ४६.४९ प्रतिशत नेपाल भित्रिएको तथ्यांकमा उल्लेख छ ।

एसियाका अन्य देशहरू चीन, जापान, मलेसिया, सिंगापुर, म्यानमार, थाइल्याण्ड, ताइवानलगायतका देशहरूबाट पनि नेपाल आएका थिए । त्यसैगरी युरोपका जर्मनी, अस्ट्रिया, बेल्जियम, इजरायल, नर्बे, इटाली, पोल्याण्ड, रसिया, स्वीटजरल्याण्ड, स्पेनलगायतका देशहरूबाट ५ हजार ७ सय १८ पर्यटक नेपाल भ्रमणका लागि आएको तथ्यांकमा उल्लेख छ । त्यसैगरी अष्ट्रेलियाबाट ६ सय १५ जना पर्यटक नोभम्बर महिनामा नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?