तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्प फन्दामा

काठमाडौँ– नेपाल गुणस्तर तथा नापतौल विभागले तोकिएको भन्दा कम मात्रामा पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई बिक्री वितरणमा रोक लगाएको छ ।

विभागले आज अनुगमनका क्रममा कम पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने हरिसिद्धि आयल स्टोर शान्तिनगर र कनक ट्रेड सेन्टर टेकुलाई बिक्री इन्धन वितरणमा रोक लगाएको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले पाँच वटा पेट्रोल पम्पको अनुगमन गरिएकामा दुईवटा पेट्रोल पम्पले तोकिएको मापदण्डभन्दा कम पेट्रोल बिक्री गरेकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिए ।

“हरिसिद्धि आयल स्टोरले पाँच लिटरमा ३० मिलिलिटरसम्म कम र कनक ट्रेड सेन्टर टेकुले पाँच लिटरमा ४५ मिलिलिटरसम्म कम बिक्री गरेको पाएपछि बिक्रीवितरणमा रोक लगाएका हौँ”– उनले भने ।
अनुगमन गरिएकामध्ये थ्री ब्रदर्श आयल स्टोर बानेश्वर, सीता केयर प्रालि कालिमाटी र नेवाः ट्रेड कन्सर्न ढल्कोको सही परिमाण फेला पारेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?