कांग्रेस केन्द्रीय सदस्यको अन्तिम मतपरिणाम बुधबारसम्म आइसक्ने

लोकपथ
169
Shares

काठमाडौं । नेपाली कांग्रेस १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते सोमबार भएको निर्वाचनको अन्तिम परिणाम बुधबारसम्म आइसक्ने केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको हालसम्म ६३ पदको मतपरिणाम सार्वजनिक भएको छ । जसमा १३ जना पदाधिकारीको पनि मतपरिणाम आइसकेको छ । हाल वाग्मती, कर्णाली, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम प्रदेशको मतगणना भइरहेको छ ।

यी प्रदेशको मतगणना अन्तिम चरणमा पुगेकाले आजै बाँकी रहेको थारु, खसआर्य, मुस्लिम, जनजातिलगायत क्लस्टरको मतगणना पनि सुरु गर्न लागिएको समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

अहिले विभिन्न क्लस्टरका ७१ केन्द्रीय सदस्यको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । बुधबारसम्म १३४ पदकै अन्तिम मतपरिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको पनि उनले सुनाए । विद्युतीय मतदान प्रक्रियामा पार्टीभित्र सहमति नजुटेकाले मत परिणाम सार्वजनिक गर्न एक साताभन्दा लामो समय लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?