जेलबाट रेशम चौधरीले पठाए बाबुरामलाई यस्तो चिठी

काठमाडौं । टीकापुर हत्याकाण्डका आरोपी रेशम चौधरीले कारागारबाट पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई एक पत्र पठाएका छन् । डिल्लीबजारस्थित सदरखोरमा रहेका चौधरीले लेखक दिलनिशानी मगरमार्फत भट्टराईलाई पत्र पठाएका हुन् । 

पत्रमा एउटै वर्ग र समूदाय आन्दोलनमा सहभागि भएकै आधारमा षड्यन्त्रपूर्वक ढंगले घटनालाई गैरराजनीतिक बनाइएको उनले गुनासो गरेका छन् । 

उनले तीन वर्षदेखि अदालतले कुनै फैसला नगरी पुपक्षका लागि २६ जनालाई थुनिराखेको उल्लेख गर्दै भनेका छन, ‘टीकपुर  घटना राजनैतिक हुन सकेन, बनाइएन । हुन नसक्नु र बनाइनुको पछाडि एउटै कारण हो–एउटै वर्ग र समूदाय मात्रै आन्दोलनमा सहभागि हुनु !’  उनले आफूहरुले शान्ति, समृद्धि चाहेपनि  न्याय नपाएका आक्रोशित जनताको बीचमा मुलुकले कसरी समृद्धिको फड्को मार्न नसक्ने समेत दाबी गरेका छन् । 

उनले आफूलाई भेट्टराईसँग भेट गर्ने इच्छा रहेकाले कारागारमा बाबुराम आउने बाटो हेरिरहेको समेत  उल्लेख गरेका छन् । 

यसैबीच  दिलनिशानी मगरले आइतबार भट्टराईलाई भेटेर पत्र हस्तान्तरण गरेका छन् । पत्र बुझ्दै भट्टराईले आफू समय मिलाएर चौधरीलाई भेट्न जाने प्रतिबद्धता जनाएको  लेखक मगरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?