तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू

लोकपथ
156
Shares

काठमाडौं । लगानीयोग्य पुँजी (तरलता)को अभाव हुन थालेपछि समाधानको उपाय खोज्नका लागि सहकारीकर्मीहरू छलफलमा जुटेका छन् ।

मंगलबार ललितपुर सहकारी अभियानको आयोजनामा तरलता व्यवस्थापनमा सहकारी अभियानको भूमिका विषयमा छलफल हुँदै छ ।

छलफलमा सहकारीको नियामक निकाय संघीय सहकारी विभागका साथै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्सकुन), राष्ट्रिय सहकारी बैंकलगायत निकायका उच्च अधिकारीहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

ललितपुरका जिल्लास्तरिय सहकारी संघ र प्रादेशिक सहकारी संघको संयुक्त आयोजनामा छलफल हुन लागेको हो ।

उच्च व्यापारघाटा, घट्दो रेमिट्यान्सलगायतका कारण चालू आर्थिक वर्ष २०७८/०७९ सुरु भएलगतै बजारमा तरलता अभाव भइरहेको छ । बैंक तथा वित्तीय संस्था हुँदै तरलताको अभावले सहकारी संघसंस्थाहरुलाई पनि समस्या पर्न थालेको छ ।

तरलता अभाव बढेसँगै सहकारीहरुले अत्यावश्यक अवस्थामा बाहेक कर्जा लगानी रोकेका छन् । सहकारी अभियानको छाता निकाय राष्ट्रिय सहकारी महासंघले मंसिर अन्तिम साता सहकारी संस्थाहरुलाई अनिवार्य रुपमा १५ प्रतिशत तरलता राख्न र तरलता व्यवस्थापनका लागि योजना बनाउन आग्रह गरिसकेको छ ।

बैंकहरुमा तरलता अभाव कम गर्नका लागि नेपाल राष्ट्र बैंकले रिपो, एसएलएफलगायका मौद्रिक उपकरणबाट बजारमा रकम पठाउँदै आएको छ ।

तर, सहकारी संघसंस्थाहरू राष्ट्र बैंकको प्रत्यक्ष नियमनका नभएकाले यो सुविधा पाउँदैनन् । देशभर दर्ता भएको ३० हजार सहकारीहरुले सर्वसाधारणको १० खर्ब निक्षेप परिचालन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?