काँग्रेसका पुराना नेता जोशीको निधन

धनगढी । नेपाली काँग्रेसका बयोवृद्ध नेता ज्योतिप्रकाश जोशीको गएराति धनगढीको बैयावेहँडीस्थित आफ्नै निवासमा ७८ वर्षको उमेरमा निधन भएको छ ।

बझाङको नेपाली काँग्रेसको संस्थापक रहनुभएका जोशी विगत लामो समयदेखि मुटुसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँका श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ । बझाङमा २० वर्षसम्म नेपाली काँग्रेसको सभापति रहनुभएका जोशीले नेपालमा प्रजातन्त्र स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

आन्दोलनका क्रममा उहाँले बझाङ र कैलालीमा गरी पटक पटक जेल जीवन बिताउनुभएको थियो । स्व जोशीको स्थानीय मोहना नदीको घाटमा आजै अन्तिम संस्कार गर्न लागिएको उहाँका छोरा सूर्यप्रकाश जोशीले बताउनुभयो ।

नेपाली काँग्रेसका नेता एनपी साउद, डडेल्धुरा काँग्रेस सभापति कर्णबहादुर मल्ल, कैलाली काँग्रेसका सभापति नरनारायण शाहलगायतले स्व जोशीको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?