साढे ३३ केजी सुन काण्डः फरार अभियुक्त छिरिङद्वारा आत्मसमर्पण

विराटनगर । साढे ३३ केजी सुन तस्कर र सनम हत्या काण्डका फरार अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्लेल घलेले आत्मसमपर्ण गरेका छन् । उनले जिल्ला अदालत मोरङमा आत्मसमपर्ण गरेका हुन् । 

आइतबार बिहान कानुन व्यवसायीमार्फत उनी मोरङ अदालत पुगेका हुन् । फरार अभियुक्त डेबिट सुन तस्करीको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका नेता एवं व्यवसायी भुजुङ गुरुङका नातेदार हुन् । 

गत वैशाख १९ गते जिल्ला अदालतले उनलाई ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी अवैध सुनको कारोबार गरेको, अपहरण तथा शरीर बन्धकका साथै कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो । 
अनुसन्धानका क्रममा उनी मुख्य लगानीकर्तामध्ये एक भएको खुलेको छ । 

सुन तस्करका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ले दिएको बयानमा डेबिटको संलग्नता रहेको र उनी पनि लगानीकर्ता मध्येका एक भएको बताएका थिए । 

गत माघ ९ गते त्रिभुवन विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन लुटिएको थियो भने त्यो सुन अहिलेसम्म भेटिएको छैन । 

त्यस्तै सुन लुटेको आशंकामा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएको थियो । 

यसैगरी नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले गत बिहीबार जिल्ला अदालतमा आत्मसमपर्ण गरेका थिए । खत्रीसहित अन्य ३० जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा डेबिडको बयान लिन सुरु भएको छ ।   
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?