घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एपीएफ विजयी

लोकपथ
77
Shares

धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएका खेलमा घरेलु टोली सुदुरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन् ।

समूह ‘बी’ अन्तर्गत फाप्ला मैदानमा भएका खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपीएफले प्रदेश नम्बर २ लाई हराएको हो ।

सोमबार भएको पहिलो खेलमा विभागीय टिम एपीएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिलाे ब्याटिङ गरेको एपीएफले ८ विकेट क्षतिमा ९८ रन बनायो ।

बिहानको हुस्सु र शीतलहरले ढिलो गरी खेल सुरु हुँदा १५ ओभरमा घटाइएको खेलमा एपीएफका लागि ज्योति पाण्डेयले २४ रन, इन्दु वर्मा २१ रन, रोमा थापाले १४ रन र ममत चौधरीले ११ रन बनाइन् ।

प्रदेश नम्बर २ का लागि विमला मगरले तीन विकेट लिइन् । त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक–एक विकेट लिइन् ।
No description available.
९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ५० रन मात्रै बनाउन सक्यो । उसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो । प्रदेश नम्बर २ का लागि मेलिना रायमाझीले २० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन् ।

एपीएफका लागि सूक्ष्मा श्रेष्ठले दुई विकेट लिइन् । सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिइन् । खेलमा एपीएफकी सुषमा श्रेष्ठ प्लेयर अफ द म्याच भइन् ।

दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रनमा गुमायो ।

सुदूरपश्चिम प्रदेशको बलिङसामु धर्मराएको गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेन् । गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक हो ।

सुदुरपश्चिमका लागि कविता जोशी र दीपा जोराले दुई–दुई विकेट लिइन् । कविता कुँवर र ईश्वरी विष्टले एक–एक विकेट लिइन् । गण्डकीका चार जना खेलाडी रनआउट भए । प्रतिउत्तरमा ३२ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो । ३२ रनको लक्ष्य सुदूरपश्चिमले दुई दशमलव १ ओभरमा पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन् । सुदूरपश्चिमले १९ रन अतिरिक्त पायो । खेलमा दुई विकेटसहित ८ रन बनाएकी सुदूरपश्चिमकी कविता जोशी प्लेयर अफ द म्याच भइन् ।

प्रतियोगिताअन्तर्गत मंगलबार समूह ‘ए’का दुई खेल हुनेछन् । पहिलो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश खेल्नेछन् । सेमिफाइनल पुगेका दुवै टोलीको खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुङ्गो लगाउनेछ । मंगलबारकै अर्को खेलमा कर्णाली प्रदेश र बागमती प्रदेश खेल्नेछन् । प्रतियोगिताबाट बाहिरिएका दुवै टोली सान्तवना जितका लागि खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?