राजपा पनि सरकारमा जाला ?

काठमाडौँ – संघीय समाजवादी फोरम सरकारमा सहभागी भैसके पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको विषयमा भने अझै टुङ्गो लागेको छैन । सरकारलाई विश्वासको मत दिएको राजपा नेपालले सरकारमा सहभागी हुने विषयमा समेत प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग वार्ता गरेको थियो । तर सहमति हुन नसकेपछि राजपाले सरकार बाहिरै बसेर समर्थन दिइरहेको छ ।
फोरम नेपालले सरकारलाई विश्वासको मत दिएसँगै तीन महिना अघि नै सरकारमा जाने निर्णय गरेको थियो । दुवै पक्षबीच पटक पटक छलफल भएपछि दुई बुँदे सम्झौता गरेर फोरम शुक्रवार मात्रै सरकारमा सहभागी भएको हो ।
तर, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य शरत्सिंह भण्डारीले मधेश आन्दोलनको क्रममा राजपा नेपालले उठाएका माग सम्बोधनको सुनिश्चितता नभएसम्म सरकारमा सहभागी नहुने बताए ।
उनले भने, ‘‘फोरम नेपाल सरकारमा गयो, यसमा राजपा नेपालको कुनै टिप्पणी छैन ।’

राजपा नेपालबाट चुनाव जितेका रेशम चौधरी शपथग्रहण समेत नलिई थुनामा छन्, यस अवस्थामामा राजपा नेपाल सरकारमा सहभागी हुने कुरै नहुने उनले बताए । राजपा नेपालले सत्तारुढ दलसँग कुरा गर्दा चौधरीको विषयलाई मुख्य कार्यसूची बनाएको छ । सदस्य भण्डारीले चौधरीको मुद्दालाई राजपाले प्राथमिकतामा राखेको जानकारी दिए ।

त्यसबाहेक आन्दोलनका क्रममा घाइते भएकाको उपचार, अङ्गभङ्ग भएकालाई भरपोषण, झुठा मुद्दा फिर्ता र सविधान संशोधन पनि आफूहरूको माग रहेको उनले बताए ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राजपाका लागि सरकारमा सहभागी हुन बाटो खुल्ला रहेको बताए ।  आजको गोरखापत्रमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?