जिल्लामा पहिलो पटक आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु

चितवन, २५ असोज ।मेडिकल सिटीका रुपमा विकास हुँदै गएको जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपण शुरु गरिएको छ । यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गरिसकेको छ भने नानी संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि तयारी गरिरहेको छ ।नेपाल नेत्रज्योति सङ्घ जिल्ला कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकममा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपणका लागि त्यहीँबाट मगाइने उनले बताए । नानी प्रत्यारोपणका लागि एकजना चिकित्सकले भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेका छन् ।अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आइसकेको कार्यबाहक अध्यक्ष धरेलले बताए । नानी संकलनपछि अप्टिसोल मिडिया र कर्नीसोल मिडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी बिग्रिदैन । डा पुष्पा गिरी श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजारमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।कुनै पनि व्यक्तिको मृत्यु भएको ६/७ घण्टाभित्रमा आँखाको नानी निकाल्न सके उत्तम हुन्छ तर १२ घण्टा सम्मको पनि नानी प्रयोगमा ल्याउन सकिने डा श्रेष्ठले बताए ।सम्बन्धित मृतकका परिवारको स्वीकृतिमा मात्रै आँखाको नानी निकाल्न सकिने भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्कले बताए । अस्पतालले आँखा दान गर्न इच्छुक व्यक्तिलाई आह्वान पनि गरेको छ । आँखा दान गर्न इच्छुक व्यक्तिलाई परिचयपत्र दिइने र तीनको मृत्युभएपछि सम्बन्धित परिवारले अस्पताललाई खबर गर्नुपर्ने हुन्छ । डा श्रेष्ठकाका अनुसार यहाँका अस्पतालसँगै देवघाट धाममा पनि आँखाको नानी संकलनका लागि काम गरिनेछ । नानी संकलन उल्लेख्य भएमा अर्काे वर्षबाट यही आँखा बैंक स्थापना गर्न सेवा फाउण्डेशन नामक संस्थाले आवश्यक उपकरण उपलब्ध गराउन आश्वासन दिइसकेको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?