हरि बाँस्तोला/गण्डकी । आर्थिक अवस्था कमजोर भएका कारण मानसिक रोगी दुई छोरीको उपचार गराउन नसक्दा यतिखेर पोखरा–२४ रातामाटाका तिमिल्सिना दम्पती गम्भीर चिन्तामा छन् ।
मजदूरी गरेर परिवारको गर्जो टार्नुपर्ने बेलामा २४ वर्षीय टिका र १७ वर्षीया छलिको उपचार गराउन नपाउँदा ती परिवार गम्भीर चिन्तामा परेका हुन् ।
‘आर्थिक विपन्नताका कारण परिवारको दैनिकी टार्न त मुस्किल छ नै, त्यसमा पनि मानसिक रोगी दुबै छोरीलाई छाडेर मजदुरी गर्न जान सक्ने अवस्था छैन । यसले परिवारको गर्जो टार्ने समस्या झन् बढेको छ, बुबा दिपराज तिमिल्सिनाले भने ।’
पुसको कठ्याङ्ग्रिदो जाडोमा ठूली छोरी टिका बाख्राको खोरमा डसना विनाको खाटमा सुत्तदै आएकी छन् भने अर्को छोरी छलि बाबु आमा सुत्ने कोठाको छेउमा सानो खाटमा कष्टकर जीवन विताउन बाध्य छन् ।
‘पोखरादेखि मुस्ताङसम्म भारी बोकेर कमाएको रु ६० हजार खर्च गरेर १२ वर्षअघि पोखरस्थित गण्डकी अस्पताल, मणिपाल शिक्षण अस्पताल र चरक अस्पतालमा दुवै छोरीको उपचार गराउँदा पनि निको भएन’ उनले भने, ‘आर्थिक अवस्था कमजोर हुँदा अहिले दुवै छोरीलाई उपचारका लागि अस्पतालसम्म पनि पुर्याउन सकिएको छैन् ।’
उनका अनुसार छोरीहरु दिसा पिसाव जथाभावी गर्छन्, कोठाबाट बाहिर निस्कनेबित्तिकै ताउलामा राखेको गाईभैंसीको कुडो खाने, आङ्गनमा सुकाएको बिस्कुन सबै फाल्दिने र दिदीबहिनी बीच झगडा गर्ने गर्दछन् ।
‘जन्मदा त राम्रै थिए, जन्मने वित्तिकै नभई केही समयपछि मात्र रोए र लामो समयपछि हिँडे, दुवै जना आकाशतर्फ बढी हेर्दथे । अहिले आएर दुवै मानसिक रुपमा विछिप्त अवस्थामा छन्’, उनले भने, ‘सन्तानबाट सहयोग पाउनु पर्ने अवस्थामा उल्टै हुर्केका छोरोहरुको वाल्यकालमा जस्तै स्याहार सुसार र पालनपोषण गर्नुपरेको पीडा भोग्नु परेको छ ।’
छोरीको उपचारका लागि सहयोग गरिदन उहाँले सबैसँग आग्रह गरेका छन्।
‘छोरीलाई हेरचाह गरेर घरमा नै बसौँ भने आम्दानी हुँदैन । हातमुख जोर्न नै समस्या हुन्छ’, उनले भने, ‘छोरीलाई छुट्टाछुट्टै कोठामा थुनेर मजदूरी गरेर साँझ घरमा आउँदा उनीहरु दिसा पिसाव खेलाएर बसेका हुन्छन् । कुनै कुनै बेला त कोठामा नै हुँदैनन् । लाइटको सहायताले खोज्दै हिँड्नु पर्दछ ।’
सन्तानको माया लाग्छ । खर्चको अभावमा उपचार गर्न सकिएको छैन र उचित उपचार कहाँ हुन्छ भन्ने थाहा पनि नभएको दिपराज तिमिल्सिनाले बताए ।
आमा मिना तिमिल्सिनाले आँसु झार्दै भनिन्, “सानी छोरीले त आफैँ पनि खाना खाने गर्छिन, ठूलीलाई खुवाई दिनुपर्दछ, शरीरको कपडा च्यात्ने, जथाभावी दिसापिसाब गर्ने र दिसा पिसाब खेलाउँदा घर नै दुर्गन्धित हुन थालेको छ ।’
आफ्नो खासै खेत छैन, अरुको खेत अधिया गरेर मानसिक रोगी दुई छोरी र एक छोरासहित पाँच जनाको जिविकोपार्जन गर्दै आएका सो परिवारले अहिले छोरीको उपचारमा सहयोग गरिदिन हुन विभिन्न सङ्घसंस्था एवं व्यक्तिसँग हार्दिक अपिल गरेको छ । पहिलो सन्तान छोरीको विहे गरेर पनि नाति ६ वर्षको भइसकेको छ भने २२ वर्षीय छोरा सुरेश तिमिल्सिना पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत छन् ।
उक्त परिवारको अवस्थाका बारेमा बुझन पीडितको घरमा नै पुगेका पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष शोभामोहन सुवेदीले भने, ‘यस दुःखद अवस्थाबाट मुक्ति दिलाउनका लागि पहिले उनीहरुको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताउँदै उनीहरुलाई कोरोनाविरुद्धको खोप घरमा लगाउने व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरे ।
‘दुवै छोरीको अवस्था कष्टकर रहेको देखेर पहिलो चरणमा उनीहरुलाई बस्नका लागि सुविधायुक्त कोठा निर्माणका लागि रोटरी क्लव अफ पोखरा फिस्टेलले सहयोग गर्ने भएको छ”, उहाँले भन्नुभयो, “सुविधायुक्त कोठा निर्माणका लागि रु एक लाख ४० हजार खर्च लाग्ने अनुमान गरिएको छ ।’
बागलुङ बसपार्कबाट पश्चिम सहिद स्मारक जामुनाबोट हुँदै कृषि सडकमार्फत उनीहरुको घरमा पुग्न सकिने पर्यटकीय नगरी पोखरा नजिककै सुगम स्थानमा रहेर पनि खाउँखाउँ लाउँलाउँ भन्ने उमेरका ती दुई दिदिबहिनीले उचित उपचारको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।
धर्म गर्नका लागि धार्मिक स्थलमा धाउनु पर्दैन्, आर्थिक अभावका कारण उपचारका लागि अस्पताल पुर्याउन नसकेर कष्टमा परेका यो परिवार यतिखेर छोरीको उपचार गर्ने सहयोगीको प्रतिक्षामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया