हनुमन्तेबाट चार टन फोहोर संकलन

भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज १४ औँ हप्ता चार टन फोहोर संकलन गरिएको छ ।

भक्तपुर नगरपालिकाले सहभागिता नजनाएको यो अभियानमा अभियन्ताले आज भक्तपुर नगरपालिकाअन्तर्गतको चुपिन घाँटमा गरेको सफाइमा नदीबाट चार टन फोहोर संकलन गरिएको हो । २०७५ लाई हनुमन्ते सफाइ वर्ष घोषणा गर्दै शुरु भएको अभियानमा आजसम्म २०० टन फाहोर संकलन भएको सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाइ अभियानका संयोजक वासुदेव थापाले जानकारी दिनुभयो ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानमा भक्तपुर नगरपालिकाले सहभागिता नजनाए पनि अभियन्ताहरुले भक्तपुर नगरपालिका भएर हनुमन्ते नदीको ब्रम्हायणी, हनुमानघाट र चुपिनघाटमा सफाइ गरेको छ ।

एक वर्षभित्र हुनमन्ते नदीलाई फोहोर मुक्त नदी बनाउने योजनाअनुरुप प्रतिनिधिसभा सदस्य महेश बस्नेतको अगुवाइमा शुरु भएको अभियानलाई हनुमन्ते पूर्णरुपमा सफाइ भएपछि मात्रै अन्त्य गरिने बस्नेतले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय गानका रचयीता व्याकुल माइलाले हनुमन्ते सफाइ राख्न जिल्लाको चारवटै नगरपालिका सक्रिय हुनुपर्ने र स्थानीय आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?