काँग्रेस बचाउन सबै तहका समिति विघटन गर्न नेता गुरुङको माग

काठमाडौँ  । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गर्नुभएको छ ।

नेता गुरुङले आज यहाँ पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गर्नुभयो । पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताउनुभयो ।

अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम् जननायक बी.पी. कोइरालाले अवलम्बन गर्नुभएको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उहाँको धारणा थियो ।

निर्वाचनमा भएको पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्ने उहाँको विचार थियो ।

नेता गुरुङले नयाँ संविधानअनुसार काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिलाई विघटन गरी, तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्वको चयन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?