सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्न प्रधानमन्त्री ओलीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन् । 

केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

“एक पटक आरोहण गरेपछि पटक पटक सगरमाथा आरोहण नगरे पनि हुन्छ” प्रधानमन्त्री ओलीले भने “सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नु राम्रो हुन्छ ।”

प्रधानमन्त्री ओलीले हिमाल आरोहणमा कहिले पनि लापरवाही गर्नु नहुने बताए । प्रधानमन्त्री ओलीले भने “हिमाल आरोहणलाई मजाकको विषय बनाउनु हुँदैन । स्वास्थ्यले साथ नदिए वा बढ्ता जोखिम मोलेर जानु हुँदैन । स्वास्थ्य ठिक भएपछि वा जोखिम घटेपछि पुन आरोहणको प्रयास गर्नुपर्दछ । सफलता पाइन्छ ।”

आफूलाई पनि सगरमाथा आरोहणको रहर भएपनि युवा अवस्थामा राजनीति गर्दा भूमिगत बस्नु परेको र त्यसपछि १४ वर्षसम्म जेल बस्नु परेकोले त्यो अवसर नपाएको प्रधानमन्त्री ओलीले बताए । “मलाई पनि सगरमाथा चढ्ने इच्छा थियो” प्रधानमन्त्री ओलीले भने “भूमिगत जीवन, जेल जीवनले पाइन् । जब जेलबाट छुटे पछि कमजोर स्वास्थ्यले दिएन ।”

सगरमाथा आरोहण गर्ने पाँच महिला पत्रकारको सम्मानमा प्रथम महिला श्रीमती राधिका शाक्यले कार्यक्रम आयोजना गरेका थिए । सफल आरोही पत्रकार रोजिता बुद्धाचार्य, रोसा बस्नेत, देउराली चाम्लिङ, कल्पना महर्जन, प्रिया लक्ष्मी कार्की हुन । कार्की स्वास्थ्यको कारणले ७ हजार मिटरबाट फर्केका थिए ।  

आरोहीहरुलाई प्रधानमन्त्री ओली, प्रथम महिला राधिका शाक्यले सम्मान गरेका थिए ।  यसैगरी उपप्रधान एवं रक्षा मन्त्री इश्वर पोख्रेल सुचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का महासचिव बिष्णु पौडेलले सम्मान गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?