रसुवाको हाकुमा मोटरबाटो निर्माण शुरु

रसुवा : सदरमुकामबाट नजिकै रहेपनि बाटो रसुवाको हाकुमा सडक निर्माण शुरू गरिएको छ । त्रिशूली नदी किनारबाट स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण भएपछि हाकु क्षेत्रमा सडक निर्माण गर्न सहज भएको हो ।

 त्यस भेगका ५०० भन्दा बढी घर परिवारलाई यातायातको पहँुच पु-याउन आफ्नो आन्तरिक बजेटमार्फत शुक्रबारदेखि सडक निर्माण अगाडि बढाइएको आमाछोदिङमो गाउँपालिकाले जनाएको छ । गापा अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब एक करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने क्षेत्र भए पनि भौगोलिक विकटताले गर्दा दूरदराजकै रुपमा रहेको हाकु क्षेत्रमा अब सडक निर्माणसँगै गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङले बताए । 

खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी गरी आएकामा अबको एक वर्षभित्र मोटरबाटो सम्पन्न हुने अपेक्षा गरिएको स्थानीयवासीले बताए । हाकुमा मोटरबाटो तयार भए पनि त्रिशूली नदीमा पुलको आवश्यक पर्ने छ । सो पुल अपर त्रिशूली (२१) मेगावाट जलविद्युत् आयोजनाले निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?