खाद्य संस्थान भन्छ : ‘धान किन्छौँ तर स्तरीय मात्रै’

RSS
156
Shares

महेन्द्रनगर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ ।

कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २ सय ७३ मेट्रिकटन धान क्षति भएको थियो ।

यहाँ छ हजार क्विन्टल धान खरिदको कोटा पाएको कम्पनीले मापदण्डका आधारमा एक सातादेखि धान खरिद गरिरहेको सो कार्यालयका प्रमुख प्रचण्ड उपाध्यायले जानकारी दिए । ‘हामीले मापदण्डमा रहेर राम्रो धान खरिद गर्ने हो’, उनले भने, ‘किसान राम्रोदेखि भिजेको धानसमेत ल्याउँदा छान्नु परेको छ ।’ उनले प्रतिक्विन्टल दुई हजार ७ सय ५२ रुपैयाँमा धान खरिद गरिरहेको जानकारी दिए ।

यता किसानले धान बिक्रीमा समस्या भइरहेको गुनासो गरे । यहाँको भीमदत्त नगरपालिका–१३ का रामबहादुर जोशीले धान बिक्री गर्दा समस्या हुनुका साथै लागत अनुरुपको मूल्यसमेत नपाइरहेको बताए ।

कृषि ज्ञानकेन्द्र कञ्चनपुरका प्रमुख डा डिलबहादुर विष्टले यसपटक एक लाख ९३ हजार ९ सय ८४ मेट्रिकटन धान यहाँ उत्पादन भएको जानकारी दिए । ‘उत्पादन भएकामध्ये ६९ हजार २ सय ७३ मेट्रिकटन क्षति भयो’, उनले भने, ‘कूल ४८ हजार ४ सय ९३ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामध्ये करिब ३५ प्रतिशत क्षति हुन पुग्यो ।’

धानखेती समेट्ने बेला आएको वर्षात्ले खेतमै धान कुहिनुका साथै बाढीलेसमेत बगाएर लगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?