गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षा व्यवस्था तत्काल मिलाउन गृहमन्त्रीको निर्देशन

लोकपथ
294
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् ।

गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।

उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो ।

गृहमन्त्री खाणले गैरसरकारी संस्थाहरुले कोरोना संकट, बाढी, पहिरोलगायतका प्राकृतिक विपदमा पनि उल्लेखनीय काम गरेको भन्दै प्रशंशा गरे । उनले गैरसरकारी संस्थाहरुको मागअनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए ।

गृहमन्त्री खाँणले भने, ‘तपाईँहरु गैरसरकारी संस्थामार्फत लाखौँ नेपाली दिदीबहिनीहरु, दाजुभाइहरु देश विकासको अभियानमा छन् । त्यसकारणले तपाईहरुको कठिनाईलाई ध्यान राखेर सरकारले हस्तक्षेपकारी भूमिका होइन, नियन्त्रणकारी भूमिका होइन । गैरसरकारी संस्थाका सन्दर्भमा वा अन्य उद्योगी, व्यवसायी संस्था र कम्पनीहरुका लागि पनि सरकारले सहयोगी भूमिका निर्वाह गर्नेछ । तपाईँहरुले काम गर्ने क्रममा सायद सुरक्षाको त्यति काम पर्दैन होला । आवश्यक पर्‍यो भने जिल्ला सुरक्षा निकायले तपाईँहरुलाई सुरक्षा प्रदान गर्नेछ । म यसै मञ्चबाट गृह मन्त्रालय मातहतका सुरक्षा निकायहरुलाई, प्रशासनलाई निर्देशन दिन चाहन्छु–गैरसरकारी संस्थाहरुलाई आवश्यक परेको सहयोग, विधिसम्मत सहयोग र सुरक्षा तत्काल उहाँहरुको मागअनुसार पूरा गर्नुहोस् । मुलुकको निर्माण हामी सबैले मिलेर गर्ने हो । मुलुक विकासका लागि नियन्त्रित शासन प्रणालीबाट सम्भव छैन भन्ने कुरामा सरकार विश्वस्त छ । जनताको सहभागितमा मात्रै मुलुकको विकास र समृद्धि हुने हो ।’

गृहमन्त्री खाणले जनताको व्यापक सहभागितमा मुलुकको विकास र समृद्धि हुने भएकाले सरकारले सोहीअनुसार सहजीकरणको कामलाई अघि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?