नबिल बैंक र राष्ट्रिय युवा परिषदको सहकार्य

लोकपथ
130
Shares

काठमाडौं । जुम्ला जिल्लाको तिला गाउँपालिकामा उद्यमशिलता विकास र वित्तीय साक्षरतासम्बन्धी ६ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सञ्चालन गर्न नबिल बैंक, राष्ट्रिय युवा परिषद र तिला गाउँपालिकाबीच त्रिपक्षीय समझदारी भएको थियो ।

गाउँपालिकाका अध्यक्ष रतननाथ योगीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथिको रूपमा पूर्व राज्यमन्त्री बलबहादुर महत, विशेष अतिथिको रूपमा नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल, नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थिती रहेको बैंकले जानकारी दिएको छ ।

महिलाहरूको उलेख्य सहभागिता रहेको उक्त कार्यक्रममा उनीहरूले घर परिवारका सदस्यहरूलाई पनि तालिममा सहभागी गराएका थिए । कार्यक्रममा बोल्दै नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले युवा र महिलाहरूको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरी दिगो समाज निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए । त्यस्तै, नबिल बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले उपस्थित युवा र महिलाहरूलाई आफ्नो क्षमतालाई कम आँकलन नगरी राम्रो उद्यमी बन्न शुभकामना दिए ।

नबिल बैंकबाट साना कर्जा लिएका उद्यमीहरूले अहिले करोडांैको कारोबार गरिरहेको उदाहरण दिँदै उनले ठूलो सपना बोकेर स्वरोजगारमा अगाडि बढ्न पनि आग्रह गरे । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यले सो क्षेत्रमा स्याउ, ओखर, मार्सी चामल, आरु, आलु, सिमी खेती हुने भएकोले त्यहाँका स्थानीयले ऋण सुविधा मागेको र भेडाबाख्रा पालन त्यहाँका वासिन्दाको मूख्य व्यवसाय हुनसक्ने बताए ।

दिगो बैंकिङ प्रवद्र्धन गरिरहेका कारण नबिल बैंकले स्थानीयलाई आर्थिक तथा वित्तीय सहयोग गर्ने उनले जानकारी दिए । तालिममा सहभागी हुन ६३२ जनाले आवेदन दिएका थिए भने १९४ परिवारका सदस्यहरू सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?