१० जेष्ठ २०७९, मंगलवार

लयमा फर्किंदै पोखराको खेलकुद

२०७८,पुष,२,शुक्रवार १४:१८

63
Shares

कास्की । पर्यटकीय शहर पोखरा खेलकुद गतिविधिमा देशकै अग्रणी स्थानमा पर्दछ । यहाँ हरेक साता प्रतियोगिता हुने गर्दछन् । रंगशालामा दैनिक प्रशिक्षण सञ्चालन हुन्छन् ।

अधिक खेल गतिविधिका कारण पोखरालाई खेल पर्यटनको सहर घोषणा गर्नुपर्ने मागसमेत हुँदै आएको छ । एकै थलोभित्र अधिकांश खेलका आवश्यक पूर्वाधार र उनको प्राकृतिक सौन्दर्यका कारण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको केन्द्र पोखरा रंगशाला बनेको छ । रंगशाला बाहिर पनि विभिन्न खेल सञ्चालन हुँदै आएका छन् ।

खेलकुदको उर्वरभूमि महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण अन्य क्षेत्र जस्तै नराम्रोसँग प्रभावित बन्यो । खेल गतिविधि नटुट्ने रंगशाला सुनसान बन्यो । प्रशिक्षण र प्रतियोगिता रोकिए । खेलाडी घरमै ‘सेल्फ प्राक्टिस’को बाध्यतामा पुगे पनि अहिले विस्तारै खेल क्षेत्र पुरानै लयमा फर्किन सुरु गरेको खेलकर्मी बताउँछन् ।

केही सातादेखि यहाँ खेलकुद प्रतियोगिता सञ्चालन भएका छन् । रंगशालामा नियमित अभ्यास सुरु भएको छ । विगतमा वर्षेनी आयोजना हुने फुटबल, भलिबललगायतका खेलका मितिसमेत घोषणा भएका छन् ।

गत साता सम्पन्न तीन साता लामो ‘आइटिएफ गल्र्स/ब्वाइज यु–१८ वल्र्ड र्‍याङ्किङ टेनिस टुर जे–५’ अन्तर्गत सर्किट–१ र सर्किट–२ का प्रतियोगितालेसमेत खेल क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउन मद्दत गरेको छ ।

यसैगरी गत महिना सम्पन्न १९ वर्ष मुनिको क्रिकेटको क्षेत्रीय छनोट प्रतियोगिताले पनि खेलकुद चलायमान बनाउन सहयोग पुग्यो । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले कोरोनाविरुद्धको खोप र त्रास कम भएपछि रंगशालामा खेल प्रशिक्षण र प्रतियोगिता सुरु भएको बताए । खेलकुद पुरानै अवस्थामा फर्किन सुरु भएको भनाइ छ ।

फुटबल, भलिबल, टेनिस, बक्सिङ, कराँते, ब्याडमिन्टनलगायतका खेलका बिहान र साँझमा प्रशिक्षण नियमित सञ्चालन भएको योगीले बताए । उनले भने, ‘खेल क्षेत्र पनि लामो समय कोरोनाको मारमा पर्‍यो  । रंगशालाको गेटमा ताला लगाएर बस्नुपर्ने अवस्था आउँदा अभ्यास, प्रतियोगितालगायतका सबै कार्यक्रम रोकिए । अहिले प्रशिक्षणसँगै प्रतियोगिता पनि सुरु भएका छन् ।’

गण्डकी प्रदेशलाई नवौँ राष्ट्रिय खेलकुद आयोजनाकोसमेत जिम्मेवारी छ । अघिल्लो वर्ष तय भएको राष्ट्रिय खेलकुद कोरोनाकै कारण रोकियो । गत वर्ष रोकिएको प्रतियोगिता यस वर्ष गर्ने योजना छ ।

यद्यपि राष्ट्रिय खेलकुद परिषद्ले मिति भने हालसम्म घोषणा गरेको छैन । ढिलोमा पनि आगामी वैशाख/जेठसम्ममा राष्ट्रिय खेलकुद हुने भनिएकाले सोही खेलाडी तयार गर्नुपर्नेछ । कार्यालय प्रमुख योगीले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी उमेर समूहअनुसार खेलाडी वर्गीकरण गरेर प्रशिक्षण गराउन सबै प्राविधिक कर्मचारी तथा खेल संघलाई आग्रह गरिएको बताए ।

खेलकुदमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले त्राससमेत बढाएको छ । तर सबै खेलाडी तथा प्रशिक्षकलाई स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरिएको बताइन्छ । राजधानी केन्द्रित शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता इतिहासमै पहिलो पटक मोसफलमा झरेको छ । लिगको ६७ वर्षको लामो इतिहासमा यस वर्षको जारी लिगका तीन खेल पोखरामा हुने भएपछि खेलको माहोलसमेत बढेको छ । लिगअन्तर्गत पोखरा रंगशालामा पुस ३ गते मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबसँग खेल्नेछ ।

यसैगरी मनाङले पुस ११ गते ब्रिगेड ब्वाइजक्लबसँग र पुस २४ गते च्यासल युथ क्लबसँग खेल्ने तालिका छ । पहिलोपटक पोखरामा लिगका खेल सञ्चालन भएपछि पोखरेली खेलकर्मी उत्साहित छन् ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मीलन गुरुङले शहीद स्मारक लिग पोखरामा सञ्चालन हुनु पोखरेलीका लागि गौरवको विषय भएको बताए । कोरानाले प्रभावित खेल क्षेत्रमा लिग आयोजनाको तयारी हुनु र खेलका लागि खेलाडी आउन सुरु गरेसँगै माहोल बढेको उनी बताउँछन् ।
कास्की जिल्ला टेनिस संघका सचिव नवीन श्रेष्ठले गत साता सम्पन्न ‘आइटिएफ गल्र्स÷ब्वाइज यु–१८ वल्र्ड र्‍याङ्किङ टेनिस टुर जे–५’ प्रतियोगिताले खेलकुदलाई चलायमान बनाएको बताए ।

विभिन्न १० देशका ८८ जना खेलाडीसहित उनीहरुको परिवारका सदस्य गरी ३ सय जना भन्दाबढीको तीन साता लामो पोखरा बसाले खेल पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुगेको बताउँदै उनले भने, ‘पोखरा रंगशालाको टेनिस कम्प्लेक्समा सम्पन्न अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताले खेल क्षेत्रमा ठूलो योगदान गरेको छ । यसले खेलकुद विकाससँगै पर्यटनमा समेत मद्दत पुग्यो ।’

जिल्ला टेनिस संघले अन्तर्राष्ट्रिय टेनिस महासंघ९आइटिएफ०सँगको सहकार्यमा टेनिसको प्रतियोगिता गरेको थियो । सहारा क्लब पोखराले वर्षेनी आयोजना गर्ने मोफसलको प्रतिष्ठित आहा/रारा गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता पनि नजिकिँदै छ । टाइगर ग्रुपको आयोजनामा आगामी पुस २६ देखि माघ १ गतेसम्म पोखरामा दोस्रो संस्करणको ‘आमन्त्रित खुला क्लब च्याम्पियनसिप पुरुष/महिला राष्ट्रिय’ भलिबल प्रतियोगिता हुँदैछ ।

यसका अलावा विभिन्न क्लब तथा संघसंस्थालेसमेत फुटसल, ‘सेभेन ए साइड’ फुटबललगायतका प्रतियोगिता सुरु गरेकाले खेलकुद माहोल बढेको छ ।

प्रकाशित मिति: २०७८,पुष,२,शुक्रवार १४:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा प्रत्येक प्रदेशमा कम्तिमा २ मेडिकल कलेज प्रतिष्ठान स्थापना गर्ने भएको छ । सरकारले सार्वजनिक

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले

काठमाडौं । गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ । युवा तथा खेलकुद

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । ३० वैशाखमा भएको मतदानको क्रममा विवाद भएपछि त्रियुगा नगरपालिका वडा

ताजा समाचार

सेञ्चुरी बैंकको ऋणपत्र बाँडफाँट
 २०७९,जेष्ठ,१०,मंगलवार १८:२४
कीर्तिपुरमा १४ वर्षीया बालिका बलात्कृत
 २०७९,जेष्ठ,१०,मंगलवार १८:०१