बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप

RSS
78
Shares

बैतडी । जिल्लामा ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लाभरि ७५ हजार ३ सय ४५ ले खोपको पूर्ण मात्रा लगाएका हुन् ।

खोपको पहिलो मात्रा भने ८९ हजार ९ सय ८४ ले लगाएका छन् । पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४ सय २ ले पहिलो मात्रा र १८ हजार ३ सय ५६ ले पूर्ण मात्रा खोप लगाएका छन् । डिलाशैनी गाउँपालिकामा १५ हजार २ सय ८३ ले पहिलो मात्रा र आठ हजार ४ सय ४३ ले पूर्ण मात्रा खोप लगाएका छन् । पुर्चौंडी नगरपालिकामा ११ हजार २ सय ८१ जनाले पहिलो मात्रा र सात हजार ८ सय २१ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

यसैगरी मेलौली नगरपालिकामा नौ हजार १ सय ३६ ले पहिलो मात्रा र पाँच हजार २ सय १८ ले पूर्ण मात्रा खोप लगाएका छन् । दोगडाकेदार गाउँपालिकामा आठ हजार ९ सय ९५ ले पूर्ण खोप पाएका छन् । सिगास गाउँपालिकामा आठ हजार ३ सय ९५ ले पहिलो मात्रा र तीन हजार ३ सय ३७ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाको पाटन नगरपालिकामा छ हजार १ सय ६१ ले पहिलो मात्रा र आठ हजार ७ सय ५३ ले पूर्ण मात्रा खोप लगाएका छन् ।

सुर्नया गाउँपालिकामा तीन हजार ७१८ ले पहिलो मात्रा र ४ हजार ९२ ले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । पञ्चेश्वर गाउँपालिकामा पाँच हजार ९ सय ३७ ले पहिलो मात्रा र छ हजार ९ सय ९५ ले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा पाँच हजार १ सय ३६ ले पहिलो मात्रा र तीन हजार ७ सय ३५ ले पूर्ण मात्रा खोप लगाएका छन् । १८ वर्षभन्दा माथि नागरिकलाई खोप लगाउने कार्य अहिले पनि जिल्लाका सबै स्थानीय तहमा खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

यसैबीच बैतडीमा १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको र अब १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने तयारी भएको हो । सरकारले देशका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान सञ्चालन गर्ने तयारी गरेसँगै बैतडीमा पनि सञ्चालनको तयारी भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी हरिशप्रसाद भट्टले जानकारी दिए ।

यहाँ पनि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पुस ६ गतेदेखि मोर्डना खोप दिइने भएको हो । सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?